Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पटक पटक किन मुछिन्छन बोर्ड अध्यक्ष

२ असोज २०७९, पछिल्लो केही दिन यता चलचित्र प्रेमगित–३ को चर्चा परिचर्चा बढिरहेको छ । हिन्दी भाषामा अनुवाद गरिएको चलचित्रलाई सिनेमा हल नदिने लगायतकारणले अहिले यो चलचित्र बहसको केन्द्रबिन्दु नै बन्न पुगेको छ । चलचित्रका अभिनेता प्रदीप खड्काले त झन् सार्वजनिक कार्यक्रम मै चलचित्र बोर्डका अध्यक्ष भुवन केसीको राजिनामा आवश्यक रहेको भाव दर्साउदै अभिव्यक्ति व्यक्त गरेका छन् ।

बोर्डले राती ११ बजेपछि हल सञ्चालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान अगाडि सारेको भन्दै खड्काले अध्यक्ष केसीको राजीनामा मागेका हुन् । शनिबार आयोजित एक कार्यक्रममा प्रदीपले ‘प्रेमगीत ३’ लाई लक्षित गर्दै भुवन र निर्माता संघले उक्त नियम ल्याएको आरोप समेत लगाएका छन् । ‘स्वविवेक प्रयोग नगर्ने, अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन’ उनले भनेका छन् । उनले केही समय अगाडि ‘प्रेमगीत ३’ लाई चलचित्र विकास बोर्डले गरेको सम्मान पनि देखाउने दाँत मात्र भएको तर्क राखे ।

तर बोर्डका अध्यक्ष भुवन के.सीको मत भने फरक छ । अध्यक्ष केसीले नेपाली फिल्मलाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको बताएका छन् । मंगलबार फिल्म ‘सायरा’ निर्माण घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ती जनाएका हुन् । ‘बजारमा भुवन केसी या विकास बोर्डले नेपाली फिल्मलाई हल दिएन, शो दिएन भनेर नकारात्मक हल्ला फैलाउँदै मेरो बदनाम गर्ने कोसिस गरिएको छ । म सबै फिल्मकर्मीलाई के भन्न चाहन्छु भने अहिलेसम्मको नियमअनुसार विकास बोर्डले हल दिने होइन । विकास बोर्ड नेपाली फिल्मले ६० प्रतिशत हल पाऊन भन्ने चाहन्छ । यदि कुनै विदेशी फिल्म चलिरहेको छ भने पनि ५०–५० प्रतिशत त हुनु पर्यो नि। नेपाली फिल्म कमजोर छ भने सेकेण्ड शोमा झार्न सक्नुहुन्छ । त्यसो त नेपाली फिल्म विदेशी फिल्म भन्दा राम्रो भएर पछारेको उदाहरण प्रशस्तै छ, उनले भने । ‘उनले नेपालमा नेपाली फिल्मले सोचेजति माया र साथ नपाएको गुनासो पोख्दै आगामी दिनमा नेपाली फिल्मलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए। ‘नेपाली फिल्मले सोचेजति माया र सर्पाेट पाएको छैन। संसारभरको सबै फिल्म हाम्रो देशमा चल्नुपर्छ, हामी सबैलाई स्वागत गर्छौं । हामी सबैलाई माया गर्ने नेपाली हौं, हामी सबै फिल्मलाई माया गर्छाैं । तर पहिलो प्राथमिकता राष्ट्रिय फिल्म, नेपालका कलाकारले खेलेका फिल्म, नेपालका मान्छेले बनाएको फिल्मलाई हुनुपर्छ,’ उनले भने ।
समग्रमा अध्यक्ष भुवन केसी पनि लामो समयदेखि नेपाली चलचित्र क्षेत्रको अनुभव लिएर बोर्डको नेतृत्व सम्हालेका हुन् । उनले गर्ने गरेका निर्णय सबै सही नहोलान् तर उनले चलचित्र क्षेत्र कै वृद्धिविकासका लागि काम गर्छन् भन्ने कुरा आलोचना प्रकट गर्नेहरुले पूर्नविचार पनि गर्नुपर्छ । सरोकार व्यक्ति एवम् निकाय आलोचना एवम् विवाद नगरी चलचित्र क्षेत्रमा उत्पन्न भएको समस्या समाधान तर्फ केन्द्रित हुन आवश्यक छ । भिडियो :-