Sur Cinema

‘अभिमन्यु : च्याप्टर १’को नयाँ गीत ‘लड्की गोरी’ : युट्युबमा पायो १० लाखबढी भ्युज

काठमाडौं : आगामी भदौ २७ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘अभिमन्यु: च्याप्टर–१’को प्रदर्शन मिति नजिकिँदै गर्दा यसको प्रचार प्रसारलाई तिव्र पारिएको छ। हालै सार्वजनिक भएको यस सिनेमाको गीत ‘लड्की गोरी’ले दर्शकको राम्रो साथ पाएको छ।

भोजपुरी लवजमा तयार भएको ‘लड्की गोरी’ गीतले सार्वजनिक भएको दुई दिनमै १० लाख भ्युज बटुलेको छ। यो एक डान्सिङ गीत हो। मज्जाले नाच्न मिल्ने यो गीत दर्शकले मन पराएका छन्।

गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको रहेको छ। यसमा संगीत संयोजन विषम आचार्यको रहेको छ भने जुना सुन्दासले आइटम डान्स गरेकी छन्।

गीतको कोरियोग्राफी रोशन विश्वकर्माले गरेका हुन्। यसको हिन्दी भर्सन पनि असोज ६ अर्थात् सेप्टेम्बर २२ मा विश्वव्यापी रुपमा रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन्।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो सिनेमालाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको यो सिनेमाका क्रिएटिभ निर्देशक मदन थापा हुन्।

पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यसबाट उम्किन खोज्ने एक व्यक्तिको संघर्षको कथामा यो सिनेमा आधारित रहेको निर्माण पक्षले बताएको छ।

सिनेमामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारको मुख्य भूमिका रहेको छ।

विनोद पौडेल र गुञ्जन गिरीको निर्माणमा बनेको यस सिनेमाका सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ रहेका छन्। यसमा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन्।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस सिनेमामा मनोज श्रेष्ठको भिएफएक्स, सुप्रिम पराजुलीको रंग सम्योजन र मदन घिमिरेको सम्पादन रहेको छ। सिनेमा ‘अभिमन्यु’मा शरद महतोले डिओपीको काम गरेका छन्।