काठमाडौं : प्रदर्शनको दोस्रो शनिबार सिनेमा ‘बाः एक योद्धा’ले देशभर उत्साहजनक दर्शक पाएको छ । शनिबारका ७४ शोजमध्ये दिउँसो साढे १२ बजेसम्म ५४ शो हाउसफुल भएका छन् भने बाँकी शोमा पनि बुकिङ ‘फिलिङ फास्ट’ रहेको निर्माता वसन्त लम्सालले बताएका छन् ।
अग्रिम बुकिङमै टिकट सकिएपछि दर्शकले सिनेमा हेर्न नपाउने अवस्था बनेपछि काठमाडौं, भक्तपुर, पोखरा र चितवनका केही हलले थप शो सञ्चालन गरेका छन् । “अग्रिम बुकिङमा टिकट सकिएपछि मध्याह्नपछि हलहरूले शो थप्न थालेका छन्,” निर्माता लम्सालले भने ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमाले पहिलो दिन ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । शुक्रबारसम्म सिनेमाले १ करोड ३० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माता पक्षको दाबी छ । दर्शकको साथ बढेसँगै सिनेमाको शो र कलेक्सन पनि उकालो लागिरहेको जनाइएको छ ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको सिनेमामा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतको अभिनय छ । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित सिनेमाका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता छन् ।


















