काठमाडौं : एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको हरर सिनेमा ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकिएको छ । भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा सुरु भएको सिनेमाको छायांकन काठमाडौंमा तीन रातको सेड्युल पूरा गर्दै सकिएको हो ।
सिनेमामा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा छन् । अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं र सिद्धार्थ सिंहलगायतका कलाकारको पनि अभिनय छ ।
वशिष्ट प्रधानको छायांकन रहेको सिनेमालाई ओविद उद्दिनले निर्देशन गरेका हुन् । निर्देशक उद्दिनले सम्पूर्ण टिमको मिहिनेतका कारण निर्धारित समयमै छायांकन सकिएको बताए । हरर विधाका सिनेमा आफूलाई पहिलेदेखि नै मन पर्ने भएकाले ‘भिडियोटेप’ निर्माणमा जोडिएको उनको भनाइ छ ।
सिनेमामा महेश बराल मुख्य सहायक निर्देशक र ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर छन् । सिनेमाको प्रदर्शन मिति भने तय गरिएको छैन ।


















