Sur Cinema

७५ दिनपछि पनि रोकिएन ‘गौंथली’को कमाइ, बन्यो नेपाली सिनेमाको दोस्रो ठूलो हिट

काठमाडौं : सिनेमा ‘गौंथली’ले प्रदर्शनको ७५ दिन पूरा गरेको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको सिनेमा बिहीबारदेखि ७६औँ दिनमा प्रवेश गरेको हो ।

निर्माता सुमन गिरीका अनुसार सिनेमाले हालसम्म २६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस अवधिमा ‘गौंथली’का ९ लाख ४३ हजार ३३१ टिकट बिक्री भएका छन् । सिनेमा विकास बोर्डको सिनेपाः विवरणअनुसार ११ असोजसम्म सिनेमाले २५ करोड ९५ लाख ८४ हजार ६४० रुपैयाँ ग्रस कमाएको थियो ।

‘पूर्ण बहादुरको सारङ्गी’पछि ‘गौंथली’ नेपाली सिने उद्योगमा सर्वाधिक कमाउने दोस्रो सिनेमा बनेको निर्माण पक्षको दाबी छ ।

डा. कपिल रिजालको निर्देशनमा बनेको सिनेमामा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायतको अभिनय छ । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको सिनेमाकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् ।