काठमाडौं : मौसम खुल्दै गएसँगै सिनेमा ‘बाः एक योद्धा’को अकुपेन्सी पनि बढ्न थालेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमाले राम्रो प्रतिक्रिया पाए पनि लगातारको वर्षाका कारण सुरुवाती दिनमा अपेक्षाअनुसार दर्शकको साथ पाउन सकेको थिएन ।
आइतबार दिउँसोदेखि मौसममा सुधार आएपछि सिनेमाका अधिकांश शोमा ८० प्रतिशतभन्दा बढी अकुपेन्सी देखिएको निर्माण पक्षले जनाएको छ । कतिपय शो हाउसफुलसमेत भएका छन् ।
निर्देशक तथा निर्माता हरि लम्सालले मौसम खुलेसँगै सिनेमाले गति लिन थालेको बताए । ‘दुई दिन वर्षाको असर पर्यो । तर, आजबाट दर्शकको उत्साह निकै बढेको छ । अधिकांश शोमा राम्रो अकुपेन्सी छ,’ उनले भने ।
दर्शकले सिनेमाले भावनात्मक बनाएको, रुवाएको तथा आफ्नै परिवारमा देखे–भोगेकै कथा उठान गरेकाले कथासँग जोडिएको प्रतिक्रिया दिइरहेका छन् । विशेषगरी अभिभावकले आफ्ना सन्तानलाई सिनेमा देखाउनुपर्ने प्रतिक्रिया आइरहेको निर्माण पक्षले जनाएको छ ।
‘बाः एक योद्धा’मा सन्तानको भविष्यका लागि बुवाआमाले गर्ने त्याग, संघर्ष र वृद्ध अवस्थामा उनीहरूले भोग्ने पीडालाई कथाको केन्द्रमा राखिएको छ ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको सिनेमामा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ । वसन्त लम्साल निर्माता रहेको सिनेमा आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।
















