Sur Cinema

‘मिरुना मगर’: भाग्यमानी नायिका

काठमाडौं : मिरुना मगरलाई ‘भाग्यमानी’ नायिका भन्न सकिन्छ किनभने उनका धेरै सिनेमाहरू सफल भएका छन्। सुरुवाती दिनका केही सिनेमाहरूलाई छोड्ने हो भने, स्थापित भएपछि मिरुनाले लगातार हिट सिनेमा दिएकी छन्।

‘कबड्डी ४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ जस्ता हिट सिनेमा दिएर उनले हिटमा ह्याट्रिक गरेकी थिइन्। त्यसपछि आएका ‘रङ्गेली’ र ‘मनसरा’ तुलनात्मक रूपमा सफल भएनन्। तर, त्यसलगत्तै ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ फेरि हिट भए। अब उनको नयाँ सिनेमा ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ प्रदर्शनमा आउँदैछ। यदि यो सिनेमा सफल भए, मिरुनाले दोस्रो पटक हिटको ह्याट्रिक गर्नेछिन्।

सिनेमाबारे बोल्दै नायिका मिरुनाले भनिन्, “जसरी यसअघि सफल भएका सिनेमामा काम गर्दा सकारात्मक भावना (पोजेटिभ भाइब्स) आउँथ्यो, यो सिनेमा गर्दा पनि त्यस्तै महसुस भइरहेको छ।” उनले थपिन्, “त्यसैले, यो सिनेमाबाट धेरै आशा छ। दर्शकले यसलाई मन पराइदिनुहुन्छ भन्नेमा म विश्वस्त छु।”

भदौ ६ गते रिलिज हुने यो सिनेमाको निर्देशन हिमाल न्यौपानेले गरेका हुन्। ‘प्रेमगीत ३’ बाट चर्चामा आएका मनिष राउतले यसमा एसोसिएट निर्देशकको भूमिका निभाएका छन्।
राउतले भने, “यो सिनेमाले निम्न र मध्यम वर्गीय नेपालीको समस्यालाई उजागर गर्छ।

नेपाली दर्शकको रुचि अनुसार तयार गरिएको यो सिनेमा सबै वर्गका दर्शकको प्रतिनिधि कथा बन्नेछ। यो कुनै समुदाय विशेषको मात्र नभई सबैको साझा कथा हो, त्यसैले हामीले मिरुना मगरलाई सिनेमामा जोडेका हौँ। उहाँमार्फत आम नेपालीले भोगेको समस्यालाई यो सिनेमाले देखाउँछ।”

‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ मा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

पेपरक्लिपको ब्यानरमा बनेको यो सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। यसको वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ।