काठमाडौं: मोहन केसीको निर्देशनमा बनेको सिनेमा ‘बुकी’ को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ। हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको यस सिनेमाले खेलकुद र प्रकृतिको सम्बन्धलाई मूल कथा बनाएको छ।
पोस्टरमा लेकाली चौरको मनमोहक दृश्य देखिन्छ, जहाँ घना बुकी फूलहरू फुलेका छन्। चौरलाई कुहिरोले डम्म छोप्न लागेको छ र त्यही चौरमा एक पुरुषसहित सात महिला भलिबल खेल्दै छन्। उनीहरूले भलिबलको नेट र कोर्टसमेत तयार गरेको देख्दा यो कुनै महिला टुर्नामेन्टको तयारी हो कि भन्ने अनुमान गर्न सकिन्छ। यद्यपि, सिनेमाको निर्माण पक्षले यस विषयमा थप जानकारी दिएको छैन।

हिमाली क्षेत्रका पाटनमा वर्षायाममा फुल्ने फूललाई स्थानीयहरूले ‘बुकी फूल’ भन्छन् र यसै नामबाट सिनेमाको नाम राखिएको हो। यसले कथामा हिमाली भूगोल र त्यहाँको जनजीवनको गहिरो प्रभाव रहने संकेत गर्छ।
सिनेमामा कार्यकारी निर्माताको रूपमा प्रकाश आले र राजन केसी छन् भने निर्मातामा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, र रमेश थापा लगायत छन्। क्रिएटिभ प्रोडुसरमा राजेश थापा र बसुन्धरा खरेल छन्।
प्रमुख कलाकारहरूमा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी र निशा बजगाईं लगायत छन्।
सिनेमाको छायांकन काठमाडौं, पोखरा, र बागलुङको ढोरपाटन लगायतका रमणीय स्थानहरूमा गरिएको छ। विकास गन्दर्भको डीओपी रहेको यस सिनेमालाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। राकेश दाहालको पब्लिसिटी डिजाइन रहेको सिनेमामा संगीत दीपक शर्मा र एचबीएन किस्मतको रहेको छ।
सिनेमाको प्रदर्शन मिति भने अझै तय भएको छैन, तर निर्माण पक्षले सन् २०२६ भित्र यसलाई रिलिज गर्ने लक्ष्य लिएको छ।















