काठमाडौं : पछिल्लो समयका ब्यस्त तथा चर्चित मोडल, अभिनेता प्रभातपाल निर्माणाधीन सिनेमा ‘जदौ’मा अनुबन्धित भएका छन् । अन्तरजातिय प्रेमकथामा निर्माण हुने सिनेमामा अभिनेत्री नीति शाहको जोडीका रुपमा उनलाई देख्न पाइने छ ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्ने सिनेमामा कलाकारको लाइनअप बलियो देखिएको छ । सिनेमामा प्रभातपाल अघिनै मुकुन भुसाल, नीति शाह, ऋचा शर्मा र बिनोद न्यौपाने अनुबन्धित भइसकेका छन् ।
भदौको पहिलो साताबाट छायांकनमा जाने सिनेमाको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको सिनेमाको लेखक तथा निर्माण परिकल्पनाकार काजी लिम्बू हुन् ।
बाबुल गिरीको संगीत अनि श्याम तामाङको छायांकन रहने सिनेमा दाङ तथा प्युठानका बिभिन्न स्थानमा खिचिनेछ । निर्देशकको नाम गोप्य राखिएको सिनेमाको केही दिनमै प्रेसमिटमार्फत सिनेमाबारे बिस्तृत जानकारी दिने तयारी निर्माण टिमले गरेको छ ।















