Sur Cinema

फागुन १ मा ‘कल्ली’ : नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुँदै

काठमाडौं : सिनेमा ‘कल्ली’ प्रदर्शन मिति तय गरिएको छ ।फागुनको १ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमालाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । सिनेमाका निर्माता किरण नेपालीले दिएको जानकारी अनुसार यो सिनेमा नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुनेछ ।

नेपालमा नेपाली भाषामा रिलिज हुने सिनेमा भारत र पाकिस्तानमा भने हिन्दी भाषामा रिलिज गरिने निर्माणपक्षको भनाई छ । सिनेमालाई भारतमा एम.के फिल्म डिस्ट्रिब्यूटर, पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्नेछन् । नेपालमा भने फिल्मको वितरण काफिया र कुबेर फिल्मस्ले गर्नेछन् । फागुनको १ गतेबाट नेपालमा भने सिनेमाको हिन्दी भर्सन रिलिज हुने छैन ।

लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको हाल धमाधम पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा महेश दवाडीको लेखन छ ।

सिनेमामा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतका कलाकारहरुको अभिनय छ । यो सिनेमाले लोभको कथा भन्छ । लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथामा यो सिनेमा बनेको निर्माणपक्षले बताएको छ । सिनेमामा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत छ ।