काठमाडौं : सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंसहित देशका आठवटा सहरबाट एक साथ पोस्टर सार्वजनिक गरेको हो । काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट दिउँसो साढे ३ बजे एक साथ पोस्टर अनावरण गरिएको हो ।
“देशभर एकसाथ सिनेमाको पब्लिसिटी होस् र सिनेमालाई लिएर दर्शकमा उत्सुकता सिर्जना होस् भनेर देशभरका ठूला सहरमा बेलुन उडाएर पोस्टर सार्वजनिक गरेका हौँ,” ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’का निर्माता विमल न्यौपानेले भने । मोफसलका दर्शकलाई पनि सिनेमाबारे जानकारी दिने उद्देश्य रहेको निर्माता न्यौपानेले जानकारी दिए ।
निर्माण टिमले दुईवटा पोस्टर एकसाथ सार्वजनिक गरेको छ । राकेश दाहालले डिजाइन गरेको एउटा पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर छन् । अर्को पोस्टरमा केकी अधिकारी छिन् । दुईवटै पोस्टरले सिनेको कथा अर्थात् सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई देखाएको छ ।
एउटा पोस्टरमा छेउछाउमा केकी र मिरुना छन् । बीचमा विजय छन् । केकी र मिरुनाले समाएको धागोलाई बीचमा विजयले समाएका छन् । मिरुना बेहुलीको भेषमा छिन् । विजय केकीको निलो कलर मिरुनाको रातो कलरको बीचमा आधाआधा छन् ।यसले केकी विजयको दिदी र मिरुना उनले विवाह गर्न चाहेको युवतीजस्तो देखिन्छ । मिरुना मंगोलियन फेसमा छिन् । विजय र केकी आर्य । त्यसैले विजय आफ्नो जातीय परम्परालाई अंगाल्दै परिवारतिरै बसौँ वा क्रान्तिकारी निर्णय गर्दै मन पराएको मान्छेसँग विवाह गरौँ भन्ने दोधारमा रहेको पोस्टरले प्रष्ट पारेको छ ।
अर्को पोस्टरमा केकी छिन्, जो धागोहरूले बाँधिएको अवस्थामा छिन् । उनको हात पहेँलो, निलो र रातो रंगको धागाले बाँधिएको छ । त्यसैले उनी क्रान्तिकारी निर्णय गर्दै विजयलाई साथ दिन्छिन् वा सामाजिक परम्परालाई नै निरन्तरता दिनुपर्छ भन्ने दोधारमा रहेको पोस्टरले संकेत गरेको छ । पोस्टरमा लेखिएको छ, ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी’ । यसले विजयको निर्णयमा केकीको साथ रहेको संकेत गर्छ ।
पोस्टरमा रहेका कलरले दोधारमा रहेका पात्रको मनोविज्ञान चित्रित गर्छ । धागोले पोस्टरलाई केही फरकपन दिएको छ । दर्शकमा पोस्टरले सिनेमालाई नोटिस गराउन सक्छन् ।
सिनेमालाई हिमाल न्यौपानेले निर्देशन गरेका छन् । सिनेमा भदौ ६ गते रिलिज हुनेछ । सिनेमाको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । बलियो लाइनअप देखिएको सिनेमामा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको सिनेमामा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।
दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । सिनेमाका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।















