Sur Cinema

सुर्खेतमा ‘सतीदेवी’को विशेष शो : खुलेआम रोए दर्शक !

काठमाडौँ : नारी चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई उजागर गर्ने सिनेमा ‘सतीदेवी’को विशेष शो तथा कर्णाली उत्कृष्ट नारी सम्मान समारोह २०८२ शनिबार सुर्खेतको बीरेन्द्रनगरमा भव्य रूपमा सम्पन्न भएको छ । लक्ष्मी चलचित्र मन्दिरमा आयोजित शोमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल, प्रदेशका उर्जा मन्त्री विजया बुढा लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।

चार सयभन्दा बढी दर्शकको साथमा चलेको विशेष शोले हलमा उपस्थित सबैलाई भावुक बनायो । कतिपय दर्शक त खुलेआम रुन थाले । नगर प्रमुख मोहनमाया ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभूति यसरी साटिन्:”सतीदेवी हेरेपछि मन गह्रौं भयो । महिलाको संघर्ष, समाजले गर्ने विभेद, किशोरीहरूको भावना—सबै दृश्यहरू हाम्रै जीवनको ऐना बनेर प्रस्तुत भए । सिनेमा सकिएपछि उठ्नै सकिएन, एकछिन मौन भएर बस्न मन लाग्यो।”

उर्जा मन्त्री विजया बुढासँगै सिनेमा अवलोकन गरेकी ढकालले सिनेमाको सिक्वेलमा सफल महिलाको कथा देखिनुपर्ने सुझाव पनि निर्देशक लक्ष्मण सुवेदीलाई दिएकी थिइन् । निर्देशक सुवेदीले सिनेमापछि प्रतिक्रिया दिंदै भने,”म आफै कर्णालीको हुँ, आफ्नै ठाउँमा आफ्ना दर्शकसँग बसेर सिनेमा हेर्दा त्यो आत्मीयता अपूर्व थियो । आगामी प्रोजेक्ट यही प्रदेशमा छायांकन गर्न चाहन्छु।”

कार्यक्रमको विशेष आकर्षण ‘कर्णाली नारी सम्मान २०८२’ थियो, जसमा समाजमा महिलाको पहिचान, प्रेरणा र योगदानलाई सम्मान गरिएको थियो । प्लेयिङ फर चेन्जद्वारा आयोजित यस समारोहमा विभिन्न क्षेत्रबाट सशक्त महिलाहरूलाई सम्मान प्रदान गरिएको जानकारी अध्यक्ष प्रकाश खड्काले दिएका छ्न् ।

‘सतीदेवी’मा मलिका महतको शीर्ष भूमिका छ, साथमा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, बाल कलाकार हर्षिका वली र मञ्जिला बानियाँको सशक्त अभिनय रहेको छ। श्रीदेवी,दिलासा र सारा सुवेदीको निर्माण रहेको सिनेमाले हालसम्म थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड जितीसकेको छ । यो सिनेमालाई दर्शकले पुन देशब्यापी प्रदर्शनको माग गरिरहेका छन् ।