Sur Cinema

ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न : मिरुना भन्छिन्, दर्शकलाई न्यानो माया दिन पाँए

काठमाडौं : शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न भएको छ । प्रिमियर बुधबार साँझ राजधानी काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा गरिएको थियो । जहाँ एक हजारभन्दा बढी अतिथि, सन्चारकर्मी, कलाकार, राजनीतिकर्मी, र शुभेच्छुकहरूको बाक्लो उपस्थितिमा रहेको थियो ।

प्रिमियर कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल, सांसद शोबिता गौतम, सांसद विनीता कठायत, सांसद असिम शाह, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू केकी अधिकारी, अञ्जना बराइली, रिमा बिश्वकर्मा, निर्देशकहरु ऋषि लामिछाने, नवल नेपाल र सन्तोष सेन लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

सिनेमा युनिटबाट प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, कलाकारहरू सुरज तमु, भावना खपाङ्गी मगर, निर्देशक नवीन चौहानलगायत सबै टिमको सहभागिता रह्यो ।

चलचित्र हेरेपछि अतिथिहरूले अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका छन् । अभिनेता दयाहाङ राईले सिनेमालाई ‘गजबको कृति’ भन्दै सबै पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए । अभिनेत्री केकी अधिकारीले ‘ऊनको स्वीटर’ आफूले हेरेका उत्कृष्ट प्रेमकथामध्ये एक भएको उल्लेख गर्दै निर्देशक नवीन चौहानको कामप्रति विशेष प्रशंसा गरिन् ।

विपिन कार्कीले दर्शकको माया देखेर मन भारी भएको बताए भने मिरुना मगरले दर्शकलाई न्यानो माया दिन सफल भएको प्रतिक्रिया जनाइन् । एलेक्स पारसले पहिलो सिनेमाबाट यस्तो प्रतिक्रिया पाउँदा उत्साहित भएको बताए । परीक्षा लिम्बुले आफू पात्रमै ढल्किएको अनुभव सुनाइन् । गायक सुजन चापागाईँले प्रिमियरमा उपस्थित सबैलाई धन्यवाद दिँदै शुक्रवारदेखि सिनेमा दर्शकको जिम्मामा रहेको बताए । निर्देशक नवीन चौहानले भने, “प्रतिक्रियाले मलाई न्यानोपन दिइरहेको छ । यी आत्मिक प्रतिक्रियाहरू शब्दमा व्यक्त गर्न गाह्रो छ ।”

सिनेमा ‘ऊनको स्वीटर’को अग्रिम टिकट बिक्री देशभरका सिनेमा घरहरूमा सुरु भइसकेको छ । वितरक गोविन्द शाहीका अनुसार देशभर ३०० भन्दा बढी शो प्राप्त भएका छन्, जुन सिनेमाको व्यापारको लागि उल्लेख्य सङ्ख्या हो ।

आर्टमाण्डू प्रा.लि.को ब्यानरमा बनेको सिनेमा ‘ऊनको स्वीटर’ पाँचथर र फालेलुङ क्षेत्रमा छायाङ्कन गरिएको सिनेमा हो । सिनेमा नेपाली समाजको विविधता र प्रेमकथा समेट्ने प्रयास गरेको निर्देशक चौहान बताउँछन् । सिनेमाले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ ।