Sur Cinema

५० वर्षपछिको अदम्य सपना : सगरमाथाको जोखिमपूर्ण यात्रामा ‘रोड टु एभरेस्ट’

काठमाडौं : समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको जोखिमपूर्ण र रोमाञ्चक यात्रा समेटिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक भएको छ।

५० वर्ष उमेर पार गरेका एक व्यक्तिको शारीरिक सीमा र उमेरलाई चुनौती दिँदै सगरमाथा चुम्ने अदम्य सपनालाई केन्द्रमा राखिएको यो ५० मिनेट लामो वृत्तचित्रले हिमालको सौन्दर्यसँगै आरोहणका प्राणघातक जोखिम, शेर्पा समुदायको संघर्ष र जलवायु परिवर्तनले हिमाली पर्यावरणमा पारेको प्रभावलाई प्रस्तुत गरेको छ।

‘वि विल राइज फाउण्डेसन’को निर्माणमा बनेको वृत्तचित्रका निर्देशक निर्मल श्रेष्ठ हुन्। दुई वर्षको अनुसन्धान र छायांकनपछि तयार भएको यसको कथा श्रेष्ठ र सञ्चारकर्मी सन्तोष आचार्यले संयुक्त रूपमा लेखेका हुन्। वरिष्ठ सञ्चारकर्मी भुषण दाहालको भ्वाइसओभर रहेको वृत्तचित्रमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र १४ वटै अग्ला हिमशिखरसहित १० पटक सगरमाथा आरोहण गरेका निमा ग्याल्जेन शेर्पाको संघर्ष पनि समेटिएको छ।

विनोद गुरुङ, सुरज गुरुङ र निर्देशक श्रेष्ठसमेत यात्राका महत्वपूर्ण पात्रका रूपमा देखिन्छन्। शतप्रतिशत नेपाली प्राविधिकको संलग्नतामा तयार गरिएको निर्माण पक्षको दाबी रहेको वृत्तचित्रमा कुनै कृत्रिम दृश्य प्रयोग नगरिएको जनाइएको छ।

नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर आगामी भदौ ६ गते (२२ अगस्ट २०२६) काठमाडौंमा हुँदैछ। त्यसपछि भदौ २८ गते (१३ सेप्टेम्बर २०२६) हङकङमा अन्तर्राष्ट्रिय प्रिमियर गरिनेछ।

सगरमाथालाई केवल हिमाल नभई साहस, संघर्ष र अठोटको प्रतीकका रूपमा प्रस्तुत गर्ने उद्देश्य राखिएको वृत्तचित्रलाई स्वदेश तथा विदेशका विभिन्न हल र अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गर्ने तयारी गरिएको छ।