काठमाडौं : सिनेमा ‘महाराजधिराज’का मुख्य कलाकार पुष्प खड्काको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको छ। सिनेमाका प्रस्तुतकर्ता विराज विष्टले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै पुष्पले सिनेमाका लागि कठोर मेहनत र त्याग गरेको बताएका छन्।
हाल काठमाडौंका विभिन्न स्थानमा सिनेमाको छायांकन भइरहेको छ। सुनसरीको श्रीलंका टापुबाट सुरु भएको छायांकन भक्तपुर हुँदै काठमाडौं आइपुगेको हो। सिनेमाको छायांकन ७० दिनमा सक्ने लक्ष्य राखिएको छ।
परिच्छेद सेनको निर्देशनमा बनिरहेको सिनेमाको छायांकन नबराज थापाले गरिरहेका छन्। निर्देशक सेनका अनुसार ‘महाराजधिराज’ सामाजिक विषयवस्तुमा आधारित पिरियड ड्रामा हो।
सिनेमामा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, सुशील सिटौला, पूजना प्रधान, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी, गजित विष्टलगायत करिब ८० जना कलाकारको अभिनय रहनेछ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको सिनेमाको लेखन निर्देशक परिच्छेद सेनले नै गरेका हुन्। रवि खड्का र टोपेन्द्र विष्ट निर्माता रहेको ‘महाराजधिराज’को प्रस्तुतकर्ता विराज विष्ट हुन्।














