काठमाडौं : नयाँ वर्ष २०८२ को छेको पारेर यहि शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘कर्मा’ले प्रदर्शनअघि नै दर्शकमाझ उल्लेखनीय हाइप बनाउन सफल भएको छ । सौरभ चौधरीद्वारा निर्देशित यो सिनेमाको ट्रेलर, टाइटल गीत र सिनेमामा समावेश ‘पागल’ बोलको गीत अहिले युट्युबदेखि सामाजिक सञ्जालसम्म व्यापक रूपमा छाएका छन् ।
टिजर, ट्रेलरदेखि गीतसम्मले दर्शक र सिनेप्रेमीको ध्यान खिच्न सफल भइसकेका छन् । केही दिन अघि सार्वजनिक भएका सिनेमाका ट्रेलर र गीतले हाल युट्युबमा ट्रेन्ड गरिरहेका छन् ।प्रदर्शन मितिसम्म ट्रेन्डिङ र हाइपको यो गति कायमै रह्यो भने ‘कर्मा’ ले बक्स अफिसमा समेत उल्लेखनीय उपस्थिति जनाउने अपेक्षा गरिएको छ । ट्रेलर र गीतहरूमाथि दर्शकले दिएका प्रतिक्रियाहरू हेर्दा ‘कर्मा’ले हलसम्म दर्शक तान्ने सम्भावना बलियो देखिन्छ ।
गत बिहीबार सार्वजनिक भएको ‘कर्मा’को ट्रेलर युट्युबको मुभी सेक्सनको ६ औं नम्बर ट्रेन्डिङमा छ । नेपालसहित विभिन्न देशको युट्युब ट्रेन्डिङमा परेको ट्रेलर हालसम्म १० लाख पटक हेरिएको छ । सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष युवालाई कसरी अपराधी बनाउँछ भन्ने प्रष्ट पारिएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीमा पुग्छ भन्ने ट्रेलरमा देख्न सकिन्छ । जसलाई छोटो समयमै दर्शकले अत्यधिक मन पराएका छन् ।
सिनेमा नेपाल र विदेशमा एकसाथ रिलिज हुँदै छ। यो सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको सिनेमामा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।
एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । वसन्त लम्सालको लगानी रहेको ‘कर्मा’ मा सञ्जय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, उत्तम न्यौपानेको साउन्ड डिजाइन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन छ । सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।















