काठमाडौं : बिहिबार फागुपूर्णिमाको दिनबाट सिनेमा ‘आउटलः दफा २१९’ रिलिजमा आउँदैछ । यो सिनेमालाई विक्की महर्जनले निर्देशन गरेका हुन् भने अमित अग्रहरी सिनेमाका निर्माता हुन् । यो सिनेमा निर्माण गर्नका लागि २ वर्ष लागेको र सबै टिमले निकै मिहिनेत गरेको भनाई निर्देशक महर्जनको छ ।
महर्जन भन्छन्–‘यो सिनेमामा एक्सन मात्र छैन । एक्सनसँगै सिनेमाले नेपालको महत्वपूर्ण विषयलाई उठान गरेको छ । सिनेमामा एक्सन, ड्रामा, कमेडी, थ्रीलर सबै छ । यसमा हेर्नका लागि धेरै कुरा छ । दर्शकलाई यसपटक धेरै सरप्राइज हुनेवाला छ । ट्रेलरमा सबै कुरा खोलिएको छैन ।’
निर्देशक महर्जनले यो कथा कसैको जीवनसँग नमिल्ने पनि दाबी गरे र भने–‘यो एउटा काल्पनिक कथा हो । क्यारेक्टर ग्याङस्टारकै हो । तर, यो बदला र न्यायको कथा हो । यसको कथावस्तु निकै नै गरुङ्गो छ ।’
यता, सिनेमाका निर्माता अमित अग्रहरी पनि सबैको सोच मिलेका कारण ‘आउटलः दफा २१९’ निर्माण भएको बताउँछन् । उनले भने–‘यस्तो एउटा विषयवस्तु हामीले ल्याएका छौं, जुन भन्न आवश्यक थियो । एक्सनमा यो सिनेमाले नेपाली सिने क्षेत्रमा नयाँ वेन्चमार्क नै खडा गर्छ जस्तो लाग्छ मलाई । मैले पैसा सोचेर सिनेमा बनाएको नै होइन । नयाँ भिजन, नयाँ विषयवस्तु भएका कारण नै लगानी गरेको हुँ ।’
उनले, नेपालमा पछिल्लो समय बनिरहेका सिनेमा भन्दा विल्कुलै फरक सिनेमा ‘आउटलः दफा २१९’ बनेको दाबी गरेका छन् । भने–‘हामीले एक्सन सिनेमा त हेरेका छौं तर त्यसमा फिल नै आउन सकेको छैन् । आउट ल ले त्यो महसुस गराउँछ । दर्शकहरुले निकै राम्रो प्रतिक्रिया पनि दिनु भएको छ । यो हाम्रो सफलता हो । सिनेमाले अर्को सिनेमा बनाउने पैसा उठायो भने पनि म खुशी हुन्छु ।’
सिनेमाको मेकिङ, प्रस्तुति, एक्सन, कलाकारहरुको अभिनयले सर्वाधिक चर्चा पाइरहेको छ । नायक सुशील श्रेष्ठको नयाँ अवतारले दर्शकलाई सरप्राइज पनि दिएको छ । यसैले, बक्स अफिसमा यो सिनेमाले सुखद कमाई गर्ने विश्वास लिइएको छ ।















