काठमाडौं : चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘नरसिंहाः अवतार’मा यो गीतलाई समावेश गरिएको छ ।
पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन् । यो गीतको भिडियोलाई ४ दिन लगाएर खिचिएको छ । जरसिंह पौवामा सेट नै लगाएर हिमाललाई काखमा राख्दै यो गीतको भिडियो खिचिएको हो ।
यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । सिनेमाका निर्देशक दिवाकर भट्टराइले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडियो तयार पारिएको बताए । यो गीतमा सिनेमाका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराइले नृत्य गरेका छन् ।

नायक राजेश हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीतको भिडियोमा नायक हमाल र अर्का नायक कटुवाललाई कर्नेलको अवतारमा देख्न पाइनेछ । भने जोडीको रुपमा नीति शाह छिन् ।
नायक कटुवालले सुरु सुरुमा नायक हमालसँग नाँच्दा केही डर लागेपनि पछि सहज भएको बताए । यो पूर्व मिस नेपाल उषा खड्गीको डेब्यू सिनेमा हो । यसैले, डेब्यू सिनेमालाई लिएर उनको छुट्टै प्रकारको उमंग देखिएको छ । यही सिनेमाबाट नायक हमाल ८ वर्षपछि पर्दामा फर्किदैछन् । दर्शकका लागि हमालको पर्खाई पनि विशेष हुने देखिएको छ ।















