काठमाडौं : फागुनको १४ गते महाशिवरात्रीको अवसर पारेर सिनेमा ‘मायाबी’ रिलिजमा आउँदैछ । यो सिनेमाको ३ वटा गीत र केही पोस्टर सार्वजनिक भइसकेका छन् । सार्वजनिक गीत र पोस्टरबाट दर्शकमा सिनेमाप्रति उत्साह बढेको छ । यो सिनेमालाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । जसले, ‘मेरो जीवन साथी, स्टूपिड मन, ड्रिम्स, क्याप्टेन’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन् ।
लभ स्टोरी सिनेमा बनाउने कुरामा दिवाकर सधै नै अगाडि छन् । तर, यसपटक लभ स्टोरी कथा भएपनि आफ्नो मनको कथा भन्न पाएकोमा दिवाकर खुशी देखिए । दिवाकर पोखराको सेरोफेरोमा खिचिएको एउटा सामान्य वर्गको परिवारको कथामा यो सिनेमा बनाएको बताउँछन् । दिवाकरले अगाडि भने–‘पाएर गुमाउन सक्नुहुन्छ, तर गुमाएर पनि पाइरहनु मायावी हो ।’
यसपटक दर्शकले फरक स्वादको प्रेमकथा यो सिनेमामा हेर्न पाउने उनको तर्क छ । उनले भने–‘खुशी र सुख भन्ने फरक कुरा हो । कहिलेकाही हामी जहाँ बाँचिरहेका छौं, सुख खोज्दा खुशी हराएको हुन्छ । सामान्य एउटा मानिस कुन परिवेशमा खुशी हुन सक्छन् र सुख अनुभुती गर्छ भन्ने कथामा यो सिनेमा ‘मायावी’ बनेको छ । जीवनमा कुनै व्यक्ति नकारात्मक कुरा पनि खुशी हुनसक्छ । धनाढ्यका लागि पैसा कमाउनु खुशी होला, सामान्य व्यक्तिका लागि नयाँ कपडा किन्दा खुशी मिल्न सक्ला । हामीले यस्तै यस्तै कथा सिनेमामा भनेका छौं ।’
दिवाकर यो सिनेमाबाट आफूलाई असन्तुष्टि मिलेको बताउँछन् । उनले भने–‘यो मैले मेरो मनबाट बनाएको सिनेमा हो । म रोम कोम सिनेमाको निर्देशक हुँ । मैले मनदेखि भन्न खोजेको कथा हो ‘मायावी’ । यो कथा भन्न सक्छु भनेर नै मैले बनाएको हो । म ‘मायावी’बाट आफ्नो करिअर सुरु भएको मान्छु । यो दिवाकर भट्टराइले भन्न चाहेको कथा हो । मैले यसअघि बनाएका सिनेमामा मेरो कथा थिएनँ । मैले ती सिनेमामा एउटा निर्देशकको रुपमा काम गरे होला । म कस्तो निर्देशक हुँ भनेर यसबाट भन्न चाहन्छु ।’
दिवाकर आफूले सिनेमाको कथा लेख्दा कोही नायक वा नायिका दिमागमा नभएको बताउँछन् । आफ्नो दिमागमा ‘जोय’ भन्ने पात्र रहेको र उसैको सेरोफेरोमा रहेर यो सिनेमाको कथा लेखेको भट्टराइको भनाई छ । दिवाकर भोलिका दिनमा दर्शकले यो सिनेमालाई जस्तो रुपमा लिएपनि आफू भने निकै सन्तुष्ट रहेको तर्क गर्छन् । व्यापार जस्तो भएपनि आफू खुशी हुने उनको भनाई छ । पोखराको सेरोफेरोमा रहेको एक सामान्य परिवारको खुशीको कथा आफूले ‘मायावी’बाट भनेको दिवाकरले जानकारी दिएका छन् । पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारहरुले यो सिनेमामा अभिनय गरेका छन् । सिनेमा हेरेपछि दर्शकले प्रेमको परिभाषामा नयाँपन पाउने विश्वास निर्देशक भट्टराइको छ ।















