Sur Cinema

प्रदीपलाई सुपरस्टारको रुपमा जनताले नै स्वीकार गरिसक्नु भएको छ : निर्देशक भुसाल

काठमाडौं : यहि माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘एक्टर : टेक वान’मा अभिनेता प्रदीप खड्कालाई ‘सुपरस्टार’को ट्याग दिएको विषय पछिल्लो समय चर्चामा छ । यो ट्याग उनलाई किन दिइयो भन्ने विषयमा निर्देशक राजन भुसाल स्वयंले राजधानीमा एक कार्यक्रमका बिच मुख खोलेका छन् ।

बिहिबार राजधानीमा मिडियाकर्मीहरु सङ्ग बोल्दै भुसालले भने, प्रदीपलाई आफुहरुले मात्र नभई अल नेपालका दर्शकले सुपरस्टार भन्न थालेको दाबी गरे । ट्याग भनेको कसैले दिएर वा नदिएर हुने कुरा होइन् । मैले ‘एक्टर’ सिनेमा प्रदीप जी लाई लिएर बनाउँदैछु भनेर कुरा गर्दा भेटेका जति सबैले ‘सुपरस्टार प्रदीप खड्का’ भन्नुहुन्थ्यो । यसको मतलब उहाँलाई सुपरस्टारको रुपमा जनताले नै स्वीकार गरिसक्नु भएको छ ।

निर्देशक भुसालले थपे ‘उहाँले सिने क्षेत्रमा दिनुभएको योगदानको हिसाबले त ‘सुपरस्टार’ ट्याग पनि सानो हो भन्ने लाग्छ ।’ तर प्रदीप भन्छन्, आफुलाई यो ‘ट्याग’ राख्न निर्माण टिमलाई कुनै दबाब नदिएको र आफुलाई एक्टरको रुपमा लिनको लागि बताए । उनले भने, ‘सिनेमामा निर्देशकले मलाई ‘सुपरस्टार’ भनेर लेख्नुभयो । मैले नलेख्ने सुझाव दिएको थिएँ । तर, मैले रोक्न सकिनँ ।’ अझ उनले भारतीय सिनेमाको उदाहरण दिदै आफुलाई यो एक्टर सिनेमाले एक्टर प्रदीप बनाओस भन्ने चाहाना रहेको बताएका छन् ।

थमन कुमार भण्डारीको लगानी रहेको सिनेमामा प्रदीपका अलावा ,दिव्या रायमाझी, आना शर्मा र सुशिल सिटौला लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।