Sur Cinema

छवि ओझा सिनेमा निर्माणमा फर्किन लागेका हुन् ?

काठमाडौं : सिनेमा विधाका केही संघ संस्थामा आवद्ध पुराना निर्माता छविराज ओझाले ‘मंगलम’ पछि कुनै सिनेमा निर्माण गरेका छैनन् । कुनै समय यस्तो थियो उनले बनाएका सिनेमा हेर्न दर्शक पर्खन्थे । तर उनै छवि ओझा आज भोलि सिनेमा निर्माणमा सुस्ताएका झैं देखिन्छन्। गलेर हो या अन्य संघ संस्थामा आवद्ध भएर हो त्यो उनले भन्ने कुरा हो।

सिने नगरिका केही मान्छेहरुबाट यदाकदा सुनिरहेको प्रसङ्ग हो ‘मंगलम २’को । उनले पनि अनौपचारिक रुपमा “मंगलम २” बनाउने प्रसंग नकोट्याएको हैन । तर यस विषयमा नत छवि ओझाको नत निर्देशक नेपालको नै प्रष्ट धारणा आएको छ । दुबै जना मौन रहे पनि सामाजिक सन्जालमा देखिएको छवि र नवलको भेटले केही हुँदैछ भन्ने अड्कल काट्न गाह्रो पर्दैन।

७ वर्ष अघि निर्माता ओझा र निर्देशक नेपालले “मंगलम” मा सहकार्य गरेका थिए भने त्यस अघि नै यी दुईले सिनेमा “लज्जा” (आर्यन सिग्देल , शिल्पा पोख्रेल , मिथिला शर्मा ) तयार गरेका थिए ।

दुबै सिनेमाले बजारमा राम्रो ब्यापार गरेका थिए भने समिक्षा पनि राम्रो पाएको थियो । विशेष त “मंगलम”ले। त्यही “मंगलम”को समीक्षा र व्यापारबाट उत्साहित भएर पनि हुन सक्छ , उक्त चलचित्रको अर्को शृङ्खला बन्ने चर्चा बजारमा यदाकदा सुनिने गर्छ ।

तत्कालिन समयमा सिनेमा प्रदर्शनताका हलमा देखिएको दर्शकहरुको उपस्थिती र युट्युबमा हेरिएको आकडाले पनि “मंगलम”ले उठाएको मुद्दा कति बलियो र समय सान्दर्भिक थियो भन्ने वजन तय गर्छ । गोविन्द फुयालको कथामा तयार भएको “मंगलम”मा “इच्छा मृत्यु”लाई कानुन बनाएरै सम्बोधन गर्नुपर्छ भन्ने आशय थियो ।

पछिल्लो समय नवल नेपाल र छवि ओझाको बाक्लो भेटले पनि दुबै बिचमा फेरि पनि सहकार्य हुँदैछ भन्ने बुझ्न गाह्रो छैन ।

मुटु रोग सर्जन डाक्टर भगवान कोईराला, लामो समयसम्म छवि ओझासंग निर्माताको रुपमा सहकार्य गरेका उद्यमी दिजेन्द्र शाक्य सहित निर्माता छविराज ओझा सङ्गका केही तस्बिरहरु नेपालले आफ्नो सामाजिक सन्जाल फेसबुकमा पोष्ट गरेको देखिन्छ। तस्विर संगै नेपाल लेख्छन् : “कतिपय भेटले, उर्जा र आत्म विश्वासलाई बलियो बनाउँछ।”

स्मरण रहोस् लामो समयदेखि घरायसी विवाद खेपिरहेका छविराज ओझाको मुद्धाले किनारा पाएको चर्चा सुनिदै आएको छ । अब भने उनी सङ्गै निर्देशक नेपाल आफ्नो त्यही लयमा फर्किने चाजो मिलाई रहेको छनक देखिन्छ । दुबैलाई शुभकामना।