काठमाडौं : छायांकन भइरहेको सिनेमा ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय गरिएको छ । सिनेमाको वितरण कम्पनी र निर्माताविच सल्लाहा गरेर प्रदर्शन मिति तय गरिएको हो ।
यो सिनेमालाई चैत्रको २९ गतेबाट रिलिजमा आउने घोषणा यसको निर्माणपक्षले गरेको हो । नयाँ वर्षको छेको पारेर यो सिनेमा चैत्र २९ बाट रिलिजमा आउन लागेको हो । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमाबाट नायक राजेश हमाल लामो समयपछि सिने क्षेत्रमा कमब्याक गर्दैछन् । यसैले, पनि यो सिनेमा घोषणा भएसँगै प्रतिक्षामा छ ।
सिनेमा ‘नरसिंहाः अवतार’मा राजेश हमालको साथमा राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय छ । सिनेमामा नेम महर्जन, दीपक शर्मा ढकाल, धु्रव न्यौपाने र नरेन्द्र महर्जनको लगानी छ ।
सिनेमामा नीर शाह, सरोज खनाल, राजीव मानन्धर, सुशान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत, प्रकाश कुँवर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ ।
८ वर्षपछि सिने क्षेत्रमा फर्किन लागेका नायक राजेश हमालको भूमिकाले दर्शकलाई उत्साहित बनाएको छ । सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभरका हलमा वितरण गर्दैछन् ।















