काठमाडौं : फस्टलुक सार्वजनिक भएसँगै सिनेमा ‘दुखी आत्मा’को माग विदेशी बजारमा ह्वात्तै बढेको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो सिनेमाको जापान वितरण अधिकार विक्री गरिएको छ ।
यो सिनेमालाई जापानमा यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । यूएनएका प्रमुख उज्ज्वल गुरागाँइले ‘दुखी आत्मा’को जापानमा उच्च माग भएकाले खरिद गरेको बताए । निर्माण टिमले कती रकममा सिनेमाको अधिकार विक्री गरेको हो भन्ने विषयमा खुलाएको छैन् ।
यो सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।
नेपालमा फागुन २ गतेबाट रिलिजमा आउन लागेको सिनेमालाई जापानमा पनि सोही मितिमा रिलिज गरिने यूएनएले जनाएको छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा हिमाल कडरियाको लगानी छ । क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको सिनेमालाई आलोक शुक्लाले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
सिनेमाको अन्य देशबाट पनि माग भइरहेको निर्माणपक्षले जनाएको छ । केही दिनमै अधिकांश देशमा सिनेमा विक्री भइसक्ने निर्माता कडरियाले जानकारी दिए ।















