काठमाडौं : आज शुक्रबारदेखि सिनेमा ‘बम बहादुर’ प्रदर्शनमा आएको छ । जोन राईको लेखन तथा निर्देशन यो सिनेमामा सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहलाई पर्दामा उतारिएको छ ।
यसले भारतका नेपाली, विशेषगरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षका पलहरूलाई मार्मिक ढंगले चित्रण गरेको निर्माण टिमले जनाएको छ । यो सिनेमा नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको हो ।
बिस्ट ब्रदर्स फिल्मस् प्रालिको व्यानरमा बनेको यो सिनेमामा सौगात मल्ल, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पञ्चकोटिलगायतको अभिनय छ ।
‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन । जोन राई र रूपेश तामाङको कथा र पटकथा रहेको यो सिनेमालाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेको छ ।















