Sur Cinema

अभिनयको मोह प्रति कलाकारको आफ्नै कलम

काठमाडौं : मेरो नाम स्मारिका खनाल हो । मेरो परिवारको हरेक सदस्य मेरो जीवनको अभिन्न हिस्सा हो । मेरी आमा ( शोभा खनाल ) जो मेरो प्रेरणाको पहिलो श्रोत हुनुहुन्छ । उहाँले मलाई हरेक परिस्थितिमा आत्मबल बढाउन सिकाउनुभएको छ । बुवा , (शिव खनाल) उहाँको जीवन पथ देख्दा मलाई जीवनमा कहिल्यै हार नमान्न सिकाएको छ। एक दाइ  (शिशिर खनाल) र बहिनी (नम्रता खनाल),  उनीहरूसँग बिताएको बाल्यकालका मिठा पलहरूले मेरो जीवनलाई अझै रंगीन बनाएको छ।

मेरो जन्मस्थान मोरङ्ग जिल्लाको भाउन्ने  हो ।  मलाई  सानै देखि नाच्न, गाउन, र अभिनय गर्न खुब मन लाग्थ्यो । यी रुचिहरू मेरो जीवनको अभिन्न हिस्सा बन्न थालेका थिए । विद्यालयका कार्यक्रमदेखि घरमै हुने स-साना उत्सवहरूमा म आफूलाई प्रस्तुत गर्न पाउँदा  खुसी मान्थे ।

सानैदेखि अभिनयप्रतिको मोह

सानै उमेरदेखि मलाई अभिनय गर्न मन लाग्थ्यो । टेलिभिजनमा सिनेमा हेर्दा वा मञ्चमा कुनै कलाकारलाई हेर्दा, म सधैं आफूलाई त्यही ठाउँमा कल्पना गर्थें । मलाई लाग्थ्यो, अभिनय केवल एउटा पेशा होइन,  यो भावनाहरू व्यक्त गर्ने र मानिसहरूको मन छुने गहिरो माध्यम हो ।

प्रेरणाका स्रोत: नेपाली सिनेमाकी महान् अभिनेत्रीहरू

मेरो अभिनयप्रतिको मोहलाई अझ बलियो बनाउने प्रेरणा नेपाली सिने क्षेत्रकी चर्चित अभिनेत्रीहरूबाट प्राप्त भयो ।

करिश्मा मानन्धर: उहाँले सिने क्षेत्रमा पुर्‍याएको योगदान र  व्यक्तित्वले मलाई गहिरो प्रभाव पारेको छ। उहाँले आफूलाई कुनै पनि भूमिकामा सहज रूपमा ढाल्न सक्ने खुबी देखाउनुभएको छ ।

रेखा थापा:  नेपाली सिनेमामा महिला सशक्तीकरणको प्रतीकको रूपमा आफूलाई स्थापित गर्नुभएको छ। उहाँको संघर्ष र सफलताले  मलाई सधैं अगाडि बढ्न प्रेरित गर्छ।

केकी अधिकारी: उहाँको आत्मविश्वास, सिर्जनशीलता, र अभिनय शैलीले मलाई यो क्षेत्रप्रति झनै गहिरो लगाव भएको छ।

यी अभिनेत्रीहरूले सधैं मलाई सिकाएका छन् कि सफलता पाउन मेहनत, आत्मविश्वास, र आफ्नो कामप्रतिको इमान्दारीता हुनुपर्छ।

अभिनयको यात्रामा परिवारको समर्थन, र आवश्यकता :

मेरो परिवार मेरो पहिलो शक्ति हो । जब मैले अभिनयलाई आफ्नो सपना र लक्ष्यको रूपमा लिन थालें, मेरो परिवारले मलाई हरेक कदममा समर्थन गर्नुभयो ।  आमाले मलाई सकारात्मक सोच र मेहनतको महत्व सिकाउनुभएको छ। मेरो बुवाले मलाई जीवनमा इमान्दार हुन प्रेरित गर्नुभएको छ।

भविष्यका सपना र योजनाहरू:
अहिले मलाई लाग्छ, अभिनय मेरा लागि केवल सपना होइन, यो मेरो पहिचान हो। म नेपाली सिने क्षेत्रमा एक सफल कलाकारका रूपमा आफूलाई स्थापित गर्न चाहन्छु। मेरो मुख्य उद्देश्य भनेको केवल चर्चित बन्नु मात्र होइन, सिनेमाको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनु पनि हो ।

मलाई विश्वास छ ,  म सानो ठाउँबाट भए पनि ठूलो प्रभाव पार्न सक्छु । नेपाली सिने क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आफ्नो ठाउँबाट सक्दो प्रयास रहनेछ ।

म सधैं विश्वास गर्छु कि यदि तपाईंसँग साँचो सपना र मेहनत गर्ने इच्छाशक्ति छ भने कुनै पनि अवरोधले तपाईंलाई रोक्न सक्दैन । अभिनय मेरो जीवनको महत्वपूर्ण हिस्सा मात्र होइन, यो मेरो माया र प्रेरणाको श्रोत पनि हो ।