Sur Cinema

‘एफएलएफ अवार्ड’को छैटौं संस्करण सम्पन्न

काठमाडौं : फाल्गुनन्द लिङ्देन फिल्म्स् प्रालिद्वारा आयोजना हुँदै आएको भाषा, संस्कृतिमा बनेका सिनेमा, म्युजिक भिडियोहरुको संयुक्त संस्कृतिमूलक अवार्ड ‘एफएलएफ अवार्ड’को छैटौं सस्करण राजधानीमा सम्पन्न भएको छ ।

किशोर सुब्बा, दिनेश लिङ्देन, लिला सिङ्घक र विवस माङ्मु जुरी मण्डल रहेको अवार्डमा नायक आशिष लिङ्देनलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको थियो ।  अवार्डमा सिनेमा ‘सुगुप’ले ‘उत्कृष्ट सिनेमा’ र ‘चे’ले ‘उत्कृष्ट कथा’को अवार्ड जिते ।

त्यस्तै नायिकातर्फ विमला खजुम, नायकतर्फ आशाहाङ आङ्बो, गीतकारतर्फ रीता फोम्बो, संगीततर्फ संगीतकार रोशन बान्तावा राई, गायिकातर्फ सुनिता लावती, गायकतर्फ निर्मल सुब्बा, छायांकारतर्फ सम्राट कार्की र निर्देशकतर्फ सागर सुब्बा उत्कृष्ट ठहरिए ।

सिने निर्मात्री आशा नेम्बाङको सभाध्यक्ष तथा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि रहेको कार्यक्रममा पूर्व मेजर जनरल होमकुमार लावती, कलाकार तथा निर्माता अशोक शर्मा, निर्देशक उदय सुब्बा, गायक धिरज राई अतिथी थिए ।

कार्यक्रमलाई सांगीतिक बनाउन गायक धिरज राई, हेम दिलुङछा राई, नरेश बनेमले गीत गाउँदा नायक सोम लामाले नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रिय नाचघरमा भएको अवार्डको प्रमुख प्रायोजक कलाकार तथा युवा व्यवसायी केशवराम राई रहेका थिए ।