काठमाडौं : लिम्बू भाषाको सिनेमा ‘सुगुप’को केही समय अगाडी नेपालका विभिन्न स्थानमा विशेष शो गरिएको थियो । नेपाल तथा विदेशका विभिन्न हलहरुमा सिनेमाको विशेष शो गरिएको हो । आफ्नो भाषाको संरक्षण गर्नका लागि र युवापुस्तालाई आफ्नो भाषाको महत्व बुझाउनका लागि सिनेमाका प्रस्तुतकर्ता एवं मुख्य निर्माता रविन कुमार नाल्बो लिम्बू लागि परेका हुन् । उनले हङकङपछि नेपालका विभिन्न स्थानमा विशेष शो गरेका हुन् ।
हङकङलाई कर्मथलो बनाउँदै आएका निर्माता लिम्बू नेपालका झण्डै दुई दर्जन विशेष शो पश्चात् कर्मथलो फर्किएका हुन् । व्यवसायीकर्मी समेत रहेका रबिनले ‘सुगुप’ मार्फत पहिलोपटक सिनेमा लगानी गरेका थिए । सिनेमामा लगानी गर्नुको कारण बताउँदै लिम्बू भन्छन्,’आफ्नो भाषा, संस्कृक्ति र पहिचानको सम्बर्धन–प्रवर्धनको लागि केही गरौं भन्ने पहिलेदेखि नै लागिरहन्थ्यो। त्यसैले पनि मैले आफ्नो मातृभाषाको सिनेमा लगानी गरेको हुँ ।’
उनले सिनेमा निर्माण गर्दाको समयलाई स्मरण गर्दै उनी भन्छन्,‘शैलेन्द्र नाल्बो र ईन्द्र शेर्पाको माध्यमबाट निर्देशक लोकेन साँवा लिम्बूसँग मेरो भेट भएको थियो । विभिन्न कठिनाईका बाबजुद पनि यो सिनेमा पुरा हुनुमा धेरैजनाको महत्वपूर्ण भूमिका रहेको छ । जसमध्ये निर्मात्री समेत रहेकी मेरी श्रीमती दिलमाया लाबुङ नाल्बो, मौसम इङ्बुङ, छायांकार युवराज राई, सम्पादक विपिन मल्ल, यासेली योङहाङ, प्रेम सुब्बा लगायतले पनि सहयोग गर्नुभएको छ। उहाँहरुप्रति धेरै आभारी छु।’
उनका अनुसार यो सिनेमामा उनकी श्रीमती दिलमायाको साथमा उनले समेत अभिनय गरेका छन् । यो सिनेमा बन्नुमा आफ्नो मात्र हात नरहेको उनको भनाई छ। जसमा लागि हङकङस्थित किराँत याक्थुङ चुम्लुङ अन्तर्गतको याक्थुङ सयोङ, प्रायोजक र हङकङबासी सम्पूर्ण सहयोगी नेपाली दाजुभाइहरुले साथ दिएको बताए ।
उनका अनुसार यो सिनेमालाई यूके, यूएई, कोरिया, मलेशिया, सिंगापुर लगायत सबैजसो एशियन देश र नेपालीहरुको बसोबास रहेका अन्य अन्तर्राष्ट्रिय मुलुकमा समेत विशेष शो आयोजना गरिने छ ।
रविन परिवार सहित हङकङमै बस्दै आएका छन् । उनका परिवार सबै उतै रहेको बताउनु भयो । उनी भन्छन्,‘तन हङकङमा भएपनि हाम्रो मन नेपाली नै हो । राम्रो कथा र भरपर्दो टिम पाएको खण्डमा भविष्यमा पनि नेपाली राष्ट्रियस्तरको कलाकार लिएर सिनेमा बनाउने योजना रहेको छ।’















