Sur Cinema

अभिनेता खनाल र महानायक हमाल ३० वर्षपछि एकसाथ सिनेमामा

काठमाडौं : दिवाकर भट्टराईको निर्देशन रहने सिनेमा ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । यो सिनेमाको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा सिनेमाको मुहूर्त सम्पन्न गरिएको हो ।  

शुभमुहूर्त कार्यक्रमा सिनेमाका निर्माण टिम तथा सिनेमाका मुख्य कलाकारहरु राजेश हमाल ,राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ लगायतको उपस्थिती थियो।

आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिती घोषणा गरेको यो फिल्ममा महानायक राजेश हमाल, राज कटुवाल , नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह,रमेस चन्द सोडारी,प्रकाश कुँवरलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

यो सिनेमाबाट ८ वर्षपछि महानायक हमालको कमब्याक हुँदैछ । उनले यो सिनेमाको लागि केही समयदेखी आफ्नो गज्जबको लुक्स बनाइरहेका छन् । लामो समयपछि हमाल सिनेमामा फर्किने खबरले यतिबेला नेपाली सिने क्षेत्र तात्तिएको छ भने हमाल पनि यो सिनेमालाई लिएर निकै उत्साहित छन् ।      

त्यस्तै, अभिनेता सरोज खनाल र महानायक हमाल ३० वर्षपछि एकसाथ सिनेमामा काम गर्दैछन् । उनीहरुले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको सिनेमा ‘सडक’मा सँगै काम गरेका थिए ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो सिनेमाका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । यो सिनेमालाई निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुर्ब न्यौपानेले सयुक्त रुपमा निर्माण गर्दैछन् । यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच  इन्टरटेन्मेन्टले सयुक्त रुपमा वितरण गर्नेछ ।