काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत दुई सिनेमा ‘सानो संसार’ र ‘आँखा’ आजबाट प्रदर्शनमा आएको छ । ‘सानो संसार’ पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हो । ‘आँखा’ सुकुम्बासी बस्तीमा रहेका भुइँ मान्छेको कथामा बनेको सिनेमा हो ।
सिनेमामा सितादेवी तिमल्सिना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कुमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् ।
सिनेमालाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।
‘आँखा’मा जौन योन्जनको लेखन तथा निर्देशन रहेको सिनेमा हो । सिनेमाको मुख्य भूमिकामा स्मिता लामिछाने र आरके मेहता छन् । आरके र स्मितासँगै सिनेमामा निशा अधिकारी, सरोज खनाल, पशुपति राई, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ, कृष्णभक्त महर्जन, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राई पनि मुख्य भूमिकामा छन् ।अलोक शुक्लाको छायांकन रहेको सिनेमाको निर्माता निर्देशक योन्जन हुन् ।
ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको सिनेमामा नारायणप्रसाद बराल कार्यकारी निर्माता, रेनुका कार्की ढोली सह–निर्माता तथा राम बस्नेत लाइन प्रोड्युसरमा छन् ।
कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको सिनेमाको गीतमा दीपक आरजे र जयन जे वाइवाको संगीत छ । सिनेमालाई आरआर फिल्मसले वितरण गरेको छ ।
दुबै सिनेमाले प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएको छ ।















