Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘बेहुली फ्रम मेघौली’ टिजर : विवाहको लागि केटा पाउन स्वस्तिमालाई मुस्किल

काठमाडौं : आगामी असोज १७ गते घटस्थापनाको दिन पारेर प्रदर्शनमा आउन लागेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक गरिएको छ। शनिबार बिहान निर्माण टिमले २ मिनेट २७ सेकेन्ड लामो टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरेको हो।

टिजरमा छोरीको विवाहको लागि एउटा परिवारलाई कति तनाव हुन्छ भन्ने कुरा देखाइएको छ। सिनेमाकी नायिका स्वस्तिमा खड्काको विवाहको लागि केटा पाउन निकै मुस्किल परेको छ टिजरमा। समग्रमा टिजर एकदम कमेडीले भरिएको छ। सिनेमाका मुख्य कलाकारहरुलाई टिजरमा देखाइएको छ। टिजरले एक खालको कौतुहलता पैदा गरेको छ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको सिनेमामा स्वस्तिमाका अलावा निश्चल बस्नेत, सिम्रन खड्का, बसुन्धरा भुसाल, बिजय बराल, रक्षा थापा, लोकेन्द्र लेखक लगायतका कलाकारहरुको अभिनय रहेको छ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन रहेको छ। सिनेमालाई स्वस्तिमा र निश्चलले निर्माण गरेका हुन्। शंकर पाण्डे र फिरोज खड्का सिनेमाका कार्यकारी निर्माता हुन्।

सिनेमालाई नरेन्द्र मैनालीले खिचेका हुन्।निमेष श्रेष्ठ सिनेमाका सम्पादक हुन्। सिनेमाले बक्स अफिसमा राम्रो व्यापार गर्ने आँकलन गरिएको छ। यसै सिनेमा मार्फत स्वस्तिमाले निर्माणमा हात हालेकी हुन्। त्यसैले पनि उनी सिनेमाप्रति निकै आशावादी छिन्।