काठमाडौं : सिनेमा ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको २ मिनेट ३९ सेकेण्ड लामो ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता अपराधजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन् । सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको सिनेमा हो । सार्वजनिक प्रदर्शनका लागि यो सिनेमा निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।















