काठमाडौं : भदौ ७ को रिलिज मिति निकट हुँदै गर्दा, मलिका महतको शीर्ष भूमिका रहेको ‘सतीदेवी’को सार्वजनिक ट्रेलरका संवादहरुले चर्चा बटुलिरहँदा निर्देशक लक्ष्मण सुवेदी आफ्नो तेश्रो निर्देशनप्रति थप आशावादी बनेका छन् ।
विशेषतः सिनेमाको टिजर तथा ट्रेलरमा रहेको ‘सिक्का भेटें खोटो रछ चल्दैन, मजस्तै रछ’ भन्ने संवाद लोकप्रियता सिँढिमा रहेको छ । संवादको सिनेमामा महत्व अत्यन्तै ठूलो हुन्छ । संवादले पात्रहरूको भावना, विचार, र कथा स्पष्ट रुपमा दर्शकमाझ पुर्याउँने मात्र नभइ सिनेमाको कथा प्रवाह गर्न, चरित्रहरूको विकास गर्न र दृश्यहरूको भावनात्मक प्रभाव बढाउने काम गर्छ ।
सुवेदी आफ्नो सिनेमा यिनै कुराहरु उजागर गर्न संवादमा विशेष मेहेनत गरेको बताउँछन् । सिनेमाको निर्देशन सँगै लेखक समेत भएकाले सिनेमामा संवादलाई सरस बनाउने आफ्नो प्रयास आफूले गरेको उनको भनाइ छ । ‘मैले मेरो मनबाट लेखेको संवाद हो। सिनेमाको कथा गाँउदेखि सुरु भइ शहरसम्म पुग्नेछ । मैले यसमा गाउँले बोलीचालीदेखि शहरको शैलीसम्म संवादमा टिप्ने प्रयास गरेको छु। टिजर र ट्रेलर आएपछि दर्शकहरुले संवादहरु नोट गर्नुभएको छ।’, उनले भने।
सिनेमामा संवादले दर्शकलाई पात्रहरूसँग जोड्ने काम गर्छ । संवादले सिनेमालाई स्मरणीय बनाउन प्रभावशाली काम गर्छ भने कयैन अवसरमा सिनेमाका संवादहरु दर्शकको मनमा लामो समयसँग घर बनाएर समेत बस्छन्। तीमध्ये कति संवाद त दर्शकलाई यति मनपर्छन् कि आफ्नो दैनिक बोलीचालीमा समेत प्रयोग गर्ने गरेका थुप्रै उदाहरण छन् ।
सिनेमाको ‘सिक्का भेटे खोटो रछ चल्दैन, म जस्तै र छ’ संवाद एउटा त्यस्तै उदाहरण हो । यो संवादमाथि थुप्रै महिला तथा किशोरी दर्शकहरुले टिकटक भिडियो, फेसबुक रिल्स तथा युट्यूब सट्सहरु बनाइरहेका छन् ।संवादको लोकप्रियताको असरले नै हुनुपर्छ । सुवेदीले सिनेमा रिलिजलाई लिएर दर्शकहरुले व्यग्रता व्यक्त गरिरहेको बताउँछन् ।
यो संवादमा २५ हजार माथि टिकटक भिडियो बनेको लक्ष्मणले बताए । उनले पोस्टप्रोडक्सन र रिलिजको दौडधुपकाबीच भ्याएसम्मका टिकटक लगायतमा बनेका भिडियोहरु सेयर गर्ने गरेका छन् । उनका लागि यो किसिमको प्रतिक्रिया रिलिज अघिको शुभकामना-शुभेक्षा हुन् । सिनेमाले कस्तो कुन स्तरको व्यापार गर्ला समयलाई नै छोडीदिएका छन् । तर, अहिलेका प्रारम्भिक प्रतिक्रियाका यी भिडियो उनका लागि अनमोल छन् ।
सिनेमाले नेपाली समाजमा छोरीछोरीमात्र हुनुमाथि समाजको दृष्टिकोण, नारी योनीमात्र इज्जतको पहरेदारका सूचकका रुपमा हेर्ने द्वेषी चरित्र र तिनले गर्दा छोरीहरुले भोग्नुपर्ने कुरालाई ‘सतीदेवी’मा सतीदेवी अधिकारी पात्रमार्फत पेस गर्ने सहास गरेका छन् । दमदार संवादको प्रयोगले सिनेमाको कथा भन्दा पनि गहिरो सन्देश दिन सक्छ, सिनेम्याटिक प्रभावलाई अझ गहिरो र अर्थपूर्ण बनाउन सक्छ ।
स्वयं दुई छोरीका पिता समेत रहेका ‘सतीदेवी’ निर्देशक सुवेदीको तेश्रो निर्देशकीय सिनेमा हो । यसपटक उनी आफ्ना अघिल्ला दुई निर्देशनमा भन्दा यसमा बढी आशावादी छन् । अघिल्ला सिनेमामा व्यवसायिकता प्रभाव ज्यादा भएपनि यसमा उनले साहित्य समाजको ऐना हो भन्ने भनाइमा अनिभूत हुन खोजेका छन् । यसै कारणले हुनुपर्छ दुई सिनेमा महोत्सवमा लेखनसँगै उत्कृष्ट सिनेमा घोषित भइसकेको छ । यसले पनि उनको हौसला बढाएको छ।
‘मनदेखि सिनेमा बनाएको छु । छोरीको बाबु हुनुको नाताले पनि होला । हाम्रो समाजले अझै छोरीहरुलाई चिन्न सकेको छैन् । बोझमात्रै ठान्दै आइरहेको छ। कहिल्यै बोझ उठाउन सक्छन् भनेर हेरेको पनि छैन् । कमजोर हुने तालिम मात्रै दिइरहेको छ’, सुवेदीले भने, ‘तालिम नै दिने हो भने बोझ उठाउने, स्वाभिमान जगाउने र भरोसाका खम्बा बनाउने तालिम दिउ न। सबैकुरा सोच र अठोट न हो। मेरो सिनेमाले भन्न खोजेको नै यही हो। छोरी बुझौं, छोरी पुजौं। सिनेमाको पोस्टरमा मैले हाइलाइट गरेर लेखेको नै यही कारणले हो। कुरालाई कसरी र कस्तो प्रकारले लिने भन्ने न हो।’
लक्ष्मणको बुझाइमा फरक लिङ्गमा जन्मकै कारणले एउटा उचो अनि अर्को निचो हुनु भन्ने सामाजिक भाष्य नै गलत छ । आफ्ना संवादमा महिला, किशोरीले भिडियो बनाउनु पछाडिको मनोविज्ञान नै यही भाष्य हो जुन सर्वथा गलत छ। नत्र त ट्रेलरको अन्त्यमा सतदेवीले ‘यो जुनी त यस्तै भो अर्को जुनी दिन्छौ भने हे ईश्वर मलाई छोरो बनाइदेऊ। म मेरो बाआमाको खुशी बन्न चाहन्छु ।’ किन भन्नुपर्थ्यो? मैले किन यो संवाद लेख्नुपर्थ्यो । लक्ष्मण प्रश्न गर्छन्।















