Sur Cinema

‘घर नम्बर २’ सुरु : पहिलो दिन आर्यन र केकीको दृश्यको छायांकन

काठमाडौं : सिनेमा ‘के घर के डेराः घर नम्बर २’को छायांकन आजबाट सुरु भएको छ । सिनेमाको छायांकन गोदाबरीबाट सुरु गरिएको निर्माणपक्षको भनाई छ । ३० दिनको सेड्यूल राखेर सिनेमाको छायांकन सुरु भएको हो ।

पहिलो दिन नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ । भने भोलिबाट सिनेमाका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि छायांकन सेटमा जोडिनेछन् । सिनेमाको छायांकन अगाडि भैसेपाटीको कार्यविनायक मन्दिरमा शुभसाइत गरियो । शुभसाइत समारोहमा सिनेमाका सम्पूर्ण कलाकार, प्राविधिक उपस्थित थिए ।

सामाजिक विषयवस्तुलाई पर्दामा उतार्न लागिएको यो सिनेमालाई दिपेन्द्र के खनालले निर्देशन गर्दैछन् । सिनेमामा वुद्दिसागरको लेखन छ । सिनेमामा अन्य कलाकारहरु प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बाल–कलाकार रुविना घिमिरेको मुख्य भूमिका रहनेछ । सिनेमामा कृष्णबहादुर थापाको छायांकन छ ।

सिनेमा ‘के घर के डेराः घर नम्बर २’मा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमालाई ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण गरिदैछ । सिनेमाको काठमाडौंमा वितरण रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले गर्नेछ । सिनेमालाई यसै वर्ष रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।