Sur Cinema

आक्रामक प्रचारमा ‘बुलाकी’ निर्माण टिम

काठमाडौं : यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बुलाकी’ निर्माण टिम यतिबेला आक्रामक प्रचारमा जुटेको छ । मिडिया तथा सोसियल मिडियाबाट दर्शकलाई सिनेमाको विषयवस्तु जानकारी गराउँदै हलमा तान्न प्रयत्नरत टिम यतिबेला सिधा दर्शकसँगै पुगेर साक्षात्कार गरिरहेको छ ।

नौलो र भिन्न प्रचार शैली पछ्याउँदै ‘बुलाकी’ युनिट यतिबेला राजधानीका विभिन्न स्थानमा पुगेर सडक नाटक, नृत्य तथा गायन प्रस्तुति दिईरहेको छ । जहाँ स्थानीय दर्शकले बलियो साथ दिएका छन् । सिनेमाले उठान गरेको कथावस्तु र प्रदर्शन मिति जानकारी गराउँदै दर्शक आकर्षण गर्न टोल-टोलमा पुगेको निर्माता तथा कलाकार विराज विष्टले बताए ।

बिहिबार ललितपुरको लगनखेलमा सिनेमा टिम पुगेर प्रस्तुति दिँदा सयौं दर्शकले साथ दिएका थिए । व्यवसायीक थिएटर कलाकार तथा मोडलहरूसँगै गायक गायिकासहित सिनेमाको प्रचार अभियानलाई अघि बढाइएको छ । नारीप्रधान भनिएको सिनेमाको कथावस्तुको परिधिमा रहेर जनचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको विष्टले बताए । शुक्रबारबाट अभिनेत्री सुरक्षा पन्त टिमसँग जोडिँदै छिन् ।

रिलिज मिति नजिकिँदै गर्दा खराब मौसमको बाबजुत सिनेमा प्रचार अभियानलाई निरन्तर अघि बढाइरहेको निर्माण टिमले बताएको छ । यो क्रम सिनेमा रिलिजको अघिल्लो दिनसम्म चल्ने र काठमाडौंका मात्रै (डेढ दर्जन) १८ ठाउँमा प्रस्तुति दिइने विष्ट बताउँछन् । ‘मुख्यतः मानिसहरूको बाक्लो भिडभाड हुने बसपार्क एरिया, विभिन्न पार्क, शान्तिवाटिका, भृकुटीमण्डप, विभिन्न सपिङ मल, खुल्ला मञ्च, बसन्तपुर, पाटन लगायतका ठाउँमा कलाकारसहित सिधा दर्शकसँग साक्षात गर्न पुग्न लागेको निर्देशक लक्ष्मण सुनारले बताए ।

पश्चिम नेपालमा विद्धमान जारी प्रथाको कथा उठान गरेको सिनेमालाई निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टले नेपाली मौलिक सिनेमा भन्दै आएको छ । नेपाल सरकारबाट विशेष सिनेमाको अवार्ड प्राप्त गरिसकेको यो सिनेमाले समग्र नेपालको संस्कृति र रितिरिवाजको प्रतिनिधित्व गर्ने सुनार बताउँछन् । यो सिनेमामा अभिनेत्री सुरक्षा पन्तसँगै अभिनेताद्वय नरेन खड्का र विराज विष्ट र नव अभिनेत्री सरस्वती खत्री प्रमुख अभिनयमा छन् । साथमा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, विनयराज पौडेल लगायतका कलाकारलाई समेत सिनेमाको अभिनयमा देख्न सकिनेछ । 

यसै साता सार्वजनिक सिनेमाको दोस्रो ट्रेलर र त्यो पहिले सार्वजनिक गीतले पाएको सुखद प्रतिक्रियाले निर्माण टिम उत्साहित छ । हालै यो सिनेमाको अष्ट्रेलिया, यूरोप र यूके प्रदर्शन अदिकार समेत बिक्री भइसकेको छ भने अन्य देशमा समेत सिनेमाको प्रदर्शनको लागि कुरा अघि बढिरहेको बताइएको छ ।