काठमाडौं : शुक्रवार रिलिज भएको नेपाली सिनेमा ‘मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ। सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ‘भिजोनिया कम्पनी लिमिटेड’ले यो सिनेमाको जापान प्रदर्शन अधिकार खरिद गरेको हो।
सिनेमा रिलिज पछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री भएको सह निर्माता हरि श्रेष्ठले बताए। उनले दर्शकबाट गजबको प्रतिक्रिया प्राप्त भइरहेको बताए। जापानमा केही दिनमा सार्वजनिक प्रदर्शनमा आउने श्रेष्ठले बताए।
निर्देशक शङ्कर कोइरालाका अनुसार दर्शकले सिनेमाको ‘थ्रिलिङ पार्ट’लाई रुचाएका छन् । शुक्रवार र शनिवार दर्शक भेट्न विभिन्न हल पुगेका निर्देशक कोइरालाले ‘मोदीबेनी’को ‘सेकेन्ड हाफ’लाई बढी रुचाएको पाइएको बताए। “सिनेमाको ‘सेकेन्ड हाफ’लाई बढी रुचाएको पाएको छु। पहिलो भागमा क्यारेक्टरको बेस तयार गरी दोस्रो भागमा थ्रिलिङ दृश्यहरू राखेका थियौँ। सोही कुरा दर्शकलाई चित्त बुझेको छ,” कोइरालाले भने। उनले सिनेमामा उठान गरिएको विषय र विश्वासै नलाग्ने कथामा दर्शकले मनोरञ्जन लिइरहेको प्रतिक्रिया आफूले पाएको बताए। “दर्शकको प्रतिक्रिया बुझ्दा ‘वर्ड अफ माउथ’ले राम्रै काम गर्ने देखिन्छ।”
सिनेमा रिलिज पछि कलाकारहरू वर्षा सिवाकोटी, नव अभिनेता अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती लगायत दर्शक भेट्न काठमाडौंका विभिन्न हल पुगेका थिए। सिनेमालाई डिनेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले निर्माण गरेका हुन्।















