Sur Cinema

फस्टलुकमा ‘नमेटिने घाउ’ : प्रधानमन्त्री ओली देखि प्रहरी उपरीक्षक राणा सम्म

काठमाडौं : अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित सिनेमा ‘नमेटिने घाउ’ को फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘नमेटिने घाउ’को निर्देशक ढुंगानाले सोमबार पोस्टर सार्वजनिक गरेका हुन् ।

सिनेमाको सार्वजनिक पोस्टरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ,प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा, प्रभात पाल ठकुरी लगायत सिनेमाका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ ।

सिनेमामा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । सिनेमामा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।

सिनेमामा एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । सिनेमामा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।

सिनेमामा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । सिनेमामा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस सिनेमामा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । सिनेमामा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।