Sur Cinema

‘होस्टेल ३’ : ‘माग्ने बुढा’का छोरा आशिषको डेब्यु संगै हेनाको इन्ट्री

काठमाडौं : निर्माणाधीन सिनेमा ‘होस्टेल ३’ले छायाङ्कन अगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ बाट छायाङ्कनमा जान लागेको यो सिनेमा आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए छन् ।

यसअघि प्रमुख भूमिकामा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन्। अब यो सिनेमामा अर्को प्रमुख भूमिकामा नयाँ पात्रको प्रवेश भएको छ, उनी हुन् आशिष घिमिरे। आशिष ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन् । आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए। उनी सो शृङ्खलामा निकै चर्चित थिए ।

“यस सिनेमामा केही प्रमुख पात्रहरू रहेका छन्, जसमा सबै जनाको भूमिका बलियो रहेको निर्देशक कंडेलले बताएका छन् । होस्टेलमा बसेर अध्ययन गर्नेहरू मध्ये एक जना पुरुष कलाकारको जरुरी रहेकोमा हामीले खोजेको जस्तो पात्र आशिषमा पायौँ,” निर्देशक कँडेलले भने ।

यस्तै, ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन् । हेना थियटर पृष्ठभूमिबाट सिनेमामा प्रवेश गरेकी हुन् । उनले एक्टर स्टुडियोमा लामो समय नाटक गरेकी छन् भने वेब सिरिजहरू ‘खेल’ र ‘साहु बा’मा पनि अभिनय गरेकी छन् । सिनेमा ‘बाइरोड’मा समेत उनले अभिनय गरेकी छन् ।

‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । ‘होस्टेल ३’लाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन्।  सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् । लाइन प्रोड्युसर भेषराज गौतम हुन् ।