Sur Cinema

‘गुलेली तन्कियो’ गीत : महानायकको कुमारीसँग ठुम्का

काठमाडौं : महानायक राजेश हमाल पछिल्लो समय सिनेमामा भन्दा म्युजिक भिडियो अनि व्यवसायिक विज्ञापनमै व्यस्त छन्। बेलाबेला सिनेमामा कमब्याकको हल्ला सुनिएपनि उनले सिनेमा गरेका भने छैनन्।

हालैमात्र उनले एउटा तीज गीतमा काम गरे। जुन गीत बिहीबार युट्युबमा सार्वजनिक भएको छ। ‘गुलेली तन्कियो’ बोकको तीज गीतमा शान्तिश्री परियार र विशाल सोनीको आवाज रहेको छ। गीतमा विशालकै शब्द अनि संगीत रहेको छ।

यता भिडियोमा भने महानायकको नृत्य देख्न सकिन्छ। मोडल कुमारी बराइलीसँग महानायकले भिडियोमा ठुम्का लगाएका छन्। उसो त विशाल सोनी पनि भिडियोमा फिचर्ड छन्।

भिडियोलाई सन्जिला सुमित्राले निर्देशन गरेकी हुन्। प्रकाश खड्काले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।