Sur Cinema

प्रेम, द्वन्द अनि आवेगले भरिएको ‘मोदीबेनी’को ट्रेलर रिलिज

काठमाडौं : शंकर कोइराला निर्देशित सिनेमा ‘मोदीबेनी’को ट्रेलर रिलिज गरिएक छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ३ मिनेट १७ सेकेन्ड लामो ट्रेलर रिलिज गरेको हो।

ट्रेलरमा सिनेमाका प्रायः प्रमुख कलाकारहरुलाई देखाइएको छ। सिनेमाकी अभिनेत्री वर्षा शिवाकोटी र नव अभिनेता अमरप्रताप श्रेष्ठलाई जोडीको रुपमा देख्न सकिन्छ। यि दुईको प्रेम सम्बन्धमा बाधा गर्ने अर्का पात्र छन् प्रवीण खतिवडा। प्रविणले वर्षालाई चाहन्छन् तर वर्षा भने अमरको प्रेममा तृप्त छिन्।

त्यतिमात्रै नभएर अमरको एक्सन अवतार पनि ट्रेलरमा देख्न सकिन्छ। ट्रेलरमा वर्षाको हरर अवतारलाई पनि देखाइएको छ। समग्रमा ट्रेलर प्रेम, द्वन्द र आवेगमा आधारित रहेको छ। ट्रेलरले दर्शकलाई पूरा सिनेमाको प्रतीक्षा गर्न बाध्य बनाउँछ।

सिनेमा डिनेस्ट इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। सिनेमामा आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको छ। वर्षा र अमरका अलावा सरोज खनाल, रेजिना उप्रेती, प्रवीण खतिवडा, कमलमणि नेपाल, जीवन भट्टराई, दिलिप केसी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

दिलिप केसी सिनेमाका निर्माता हुन् भने सह-निर्माताको रुपमा हरि श्रेष्ठ रहेका छन्। सिनेमाको पोस्टर र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्। यो सिनेमाबाट अमरले डेव्यू गर्दैछन्। अभिनेत्री रेजिना उप्रेतीले यसै सिनेमाबाट कमब्याक गर्दैछिन्। त्यसैले पनि ‘मोदीबेनी’लाई लिएर दर्शक निकै उत्साहित छन्।