Sur Cinema

‘एक्टर’को छायांकन सम्पन्न लगतै बिदेश बिक्री सुरु

काठमाडौं : छायांकन अगावैबाट चर्चामा रहेको सिनेमा ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्यवासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको सिनेमाको दुई चरण गरी ४५ दिनमा छायांनक पुरा गरिएको हो ।

पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै सिनेमाको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए ।

राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको सिनेमामा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय रहेको छ ।

दिव्याको भने यो पहिलो सिनेमा हो । राजबल्लभले यही सिनेमाबाट करिब दश वर्षपछि कमब्याक गरेका छन् । नायक खड्काले पहिलो पटक सिने पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।

अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको यो सिनेमामा थमन कुमार भण्डारीको लगानी छ । एनिस भुसाल सह-निर्माता रहेको यो सिनेमाको क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।  सिनेमाका छायाँकार नरेन्द्र मैनाली हुन् ।

यो सिनेमा यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुने छ । सिनेमाको जापान प्रदर्शन अधिकार समेत बिक्री भएको छ । ‘एक्टर’को जापान राइट्स खेम राज शाहको म्याक्स इटरटेन्टमेन्टले खरिद गरिसकेको छ ।