Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘मोदीबेनी’को पहिलो गीत ‘मन्जुरी’मा वर्षा र अमरको रोमान्स

काठमाडौं : शंकर कोइराला निर्देशित सिनेमा ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘मन्जुरी’ बोलको गीत सार्वजनिक गरेको हो।

गीतमा गायक एसडी योगी र गायिका विज्ञानी पराजुलीको सुमधुर आवाज रहेको छ। गीतका शब्दहरु राम अबिरल बिष्टले लेखेका हुन् भने संगीत चाहिँ एसडी योगीकै रहेको छ। गीत निकै प्रेमिल छ। प्रेमिला शब्दहरुले सजिएको छ गीत। मेलोडी पनि उस्तै मिठासयुक्त छ।

रोमान्टिक भावमा रहेको गीतको भिडियो पनि निकै आकर्षक छ। भिडियोमा सिनेमाका मुख्य कलाकार वर्षा शिवाकोटी र अमर प्रताप श्रेष्ठ फिचर्ड छन्। एक शिक्षिका र अभिभावकबीचको प्रेम कथालाई रोमान्टिक तरिकाले भिडियोमा देखाइएको छ।

हेर्दाहेर्दै भिडियो सकिएको दर्शकलाई पत्तो नै हुँदैन। किनकी वर्षा र अमरको जति राम्रो रोमान्स त्यति नै आकर्षक लोकेसनले भरिएको छ भिडियो। त्यसैले पनि भिडियोले दर्शकको ध्यान सुरुदेखि अन्तिमसम्म खिचेर राख्छ। अमरको यो पहिलो सिनेमा हो। पहिलो सिनेमाको पहिलो गीतमा उनको अभिनय अब्बल छ। वर्षासँग खुलेर रोमान्स गरेका छन् उनले।

भिडियोलाई किरण थापाले कोरियोग्राफी गरेका हुन्। किरणले भिडियोमा निकै मिहेनत गरेको आभाष हुन्छ। उनको ड्रेस, लोकेसन छनोटदेखि लिएर सबै कुरा भिडियोमा उत्कृष्ट छ।

आगामी श्रावण १८ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमामा वर्षा र अमरका अलावा सरोज खनाल, रेजिना उप्रेती, प्रवीण खतिवडा, कमलमणि नेपाल, जीवन भट्टराई, दिलिप केसी लगायतका कलाकारहरुको सिनेमामा अभिनय रहेको छ। तनहुँको मोदीबेनी क्षेत्रको एक अविश्वासको घटनाको कथालाई सिनेमामा प्रस्तुत गरिएको छ।

आनन्द विक्रम क्षेत्रीले सिनेमाको कथा लेखेका हुन्। दिलिप केसी सिनेमाका निर्माता हुन् भने सह-निर्माताको रुपमा हरि श्रेष्ठ रहेका छन्। डिनेस्ट इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमालाई उत्सव दाहालले खिचेका हुन्।

सिनेमाको पोस्टर र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्। सिनेमालाई भरत रेग्मीले सम्पादन गरेका हुन्। यसै सिनेमा मार्फत अमरले डेव्यू गर्दछन्। पहिलो काम भएकोले अमर त उत्साहित छन् नै सिनेमाको सम्पूर्ण टिम पनि उत्तिकै उत्साहित छ।