काठमाडौँ : शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा सिनेमा “दिमाग खराब” बाट निर्देशक निस्चल बस्नेत सर्वोत्कृष्ट निर्देशक बन्न सफल भएका छन । त्यस्तै ‘सतीदेवी’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ ।
अभिनेत्रीतर्फ ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता भए । यस्तै सर्वोत्कृष्ट घोषित ‘सतीदेवी’ ले पटकथामा पनि आफ्नो कब्जा जमायो। अभिनेत्री मलिका महतले यही सिनेमाबाट बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड जितिन भने सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुषाल अभिनित ‘विच्छेद’ले जुरी मेन्सन अवार्ड जित्यो। यस्तै रंग संयोजनमा ‘दिमाग खराब’का राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भए।
यसैगरी सर्ट फिल्म तर्फ परिच्छेद सेनको ‘मदर’ उत्कृष्ट हुँदा बेस्ट कल्चरल सिनेमामा बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ले बाजी मर्यो । यस्तै, सिनेमा आर्टस् उत्कृष्ट सिनेमा निर्माण कम्पनी घोषित भयो ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहालले रामेछाप जिल्लामा सिनेमा छायांकन गर्न मिल्ने धेरै ठाउँहरु आफुले यात्राको क्रममा देखेको बताए । उनले ग्रामीण परिवेशमा बन्ने सिनेमा सुटिङ्गका लागी रामेछाप उपयुक्त ठाउँ रहेको र फिचर सिनेमा तथा सर्ट सिनेमाहरुका निर्मातालाई सुटिङ्गका लागी रामेछाप जिल्लालाई छनौट गर्न पहल गर्ने बताए ।
कार्यक्रममा अभिनेता मुकुल भूषाल,महोत्सवका कार्यक्रम संयोजक एवं निर्देशक कमल एक्चै मगर,रामेछाप नगरपालिका ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ लगायतले मन्तव्य राखेका थिए । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा केही निर्देशक,निर्माता तथा कलाकारहरुको उपस्तिथी रहेको थियो । महोत्सवमा दिमाग खराब,नाङ्गो गाउँ,बिच्छेद,सतीदेवी,डेसान लगायत सिनेमा देखाईएको थियो । महोत्सवमा सिनेमा प्रदर्शनका अलावा बिभिन्न विषय सिनेमा संवाद कार्यक्रम पनि भएको आयोजकले जानकारी दिएको छ ।
रामेछाप नगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा भएको महोत्सवमा २००० जना भन्दा बढी दर्शकले सिनेमा हेरेका थिए । महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुन्डेबेसीमा सम्पन्न भएको थियो ।















