काठमाडौं : आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘फर्की फर्की’ ले पहिलो चरणमै रेकर्ड ब्रेक गरेको छ । प्री–टिजर रिलिजबाट नै चर्चामा रहेको ‘फर्की फर्की’ को ट्रेलर रिलिज भएको २४ घण्टा नपुग्दै मिलियन भ्युज पाएको छ ।
अनमोलको अपोजिटमा नायिका जसिता गुरुङ छिन् । करिब दुई वर्षको अन्तरालमा पुनः पर्दामा देखिएका अनमोल दर्शकहरुको प्रतिक्षित नायक हुन् । अनमोलले सिमित सिनेमामा काम गरिरहेका छन् । ‘फर्की फर्की’ पनि उनको एक प्रतिक्षित सिनेमा हो ।
सिनेमाको बिहीवार ट्रेलर रिलिज भएपछि दर्शकहरुको प्रतिक्षित सिनेमा बनेको छ । अभिनयमा कमजोरी भएको आरोप खेप्दै आएका अनमोलले यो सिनेमामा गज्जबको काम गरेको भान हुन्छ । टिपिकल लभ स्टोरी सिनेमाको ‘फर्की फर्की’मा आकर्षण, रोमान्स अनि बियोगलाई निर्देशक तथा लेखक सुयोग गुरुङले गज्जबले प्रस्तुत गरेका छन् ।
ओएसआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको सिनेमामा सुयोगकै कथा एवं पटकथा छ । ओमप्रकाश अग्रवाल निर्माता रहेको सिनेमामा मनोज वली र रामु न्यौपाने सह–निर्माता, अरूण रिजाल एसोसियट निर्माता तथा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको सिनेमाको सम्पादक सुरेन्द्र पौडेल हुन् ।
















