काठमाडौं : नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ सिनेमा ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ ।छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथामा निर्माण हुने सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
पहाडको खोँच, खोँचमा कुहिरो । पहाडमा हिमाली क्षेत्रमा पाइने बोटविरुवाले हिमाली क्षेत्रको संकेत गरेको छ । दुई पहाडको खोँचमा बस्ती । बस्ती यति पुरानो छ । लाग्छ यो प्राचिन बस्ती हो । बस्तीका घर पुराना भइसकेका छन् । जीर्ण बनेका घर लड्न ठिक्क परेजस्ता देखिन्छन् । ढुंगाको छानो भएका बाक्लै घर तीनतलेसम्मका र सिँढी देखिन्छ । यसले कुनै समयको संवृद्ध बस्ती भएको पोस्टरले संकेत गरेको छ ।
सिनेमाको टाइटल (नाम)ले भने भिजिट भिसामा विदेशिने क्रमले गाउँ नै खाली भएको प्रष्ट देखाउँछ । सिनेमाले पछिल्लो समय लर्को लागेर विदेश जाने प्रवृत्तिलाई पेस गर्ने संकेत निर्माण पक्षले पोस्टर मार्फत् दिएको छ ।
मोती बिष्ट प्रस्तुतकर्ता रहेको यो सिनेमाको निर्माता टोपेन्द्र बिष्ट हुन् । बिराज बिष्टको कथा रहने सिनेमामा यम थापाको पटकथा रहेको छ । सिनेमाकालागि निर्देशक र कलाकारहरू भने तय गरिएको छैन् ।















