काठमाडौं : नयाँ वर्ष २०८१ को अवसर पारेर सिनेमा “यो मन त मेरो नेपाली हो” को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको पोस्टरमा मुख्य कलाकारहरु रोशन श्रेष्ठ,आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललाई देख्न सकिन्छ । २०८१ सालमा नै रिलिजको तयारीमा रहेको सिनेमाको छिट्टै प्रदर्शन मिति तय गरिने निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले बताउनु भयो ।
अमेरीकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको सिनेमालाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । सिनेमाको पहिलो चरणमा नेपालको झापा , इलाम साथै भारतको सिकिम ,दार्जीलिङ,जयगाउ पश्चिम् बङ्गाल लगायतको ठाउँमा सिनेमाको छायांकन गरिएको थियो ।
सिनेमामा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको सिनेमाले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । सिनेमाले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ।
शिवम् अधिकारीको लेखनमा निर्माण भएको सिनेमाले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति बिर्सदै गएको हुँदा सिनेमाको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।
सिनेमामा दिपक शर्माको संगीत ,सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स , ,कविराज गहतराजको कोरियोग्राफी रहने छ। सिनेमामा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल ” दिवाना “र निर्माण नियन्त्रक सुमन काफ्लेको रहेको छ ।















