Sur Cinema

भीम विराग सङ्गीत साहित्य कला पुरस्कार राजेन्द्र थापालाई

काठमाडौं : भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालको १५ औं संस्करण हुने भएको छ । १५ औं संस्करणकी ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार, २०८०’ चैत २९ गते बिहीबार हेटौडामा एक विशेष कार्यक्रमको आयोजना गरी समर्पण गरिने भएको हो ।

वरिष्ठ कलासाधक भीम विरागको बहुआयामिक व्यक्तित्वप्रति सम्मान स्वरूप तरङ्ग साँस्कृतिक परिषद्‌को पहलमा वि.सं. २०५९ भाद्र ७ गते स्थापना भएको ‘भीम विराम सङ्गीत साहित्य कला प्रतिष्टान नेपाल नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रमा परिचित संस्था हो । देश तथा विदेशमा रही नेपाली वाङ्गयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका सर्जक, श्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको यो संस्थाले मकवानपुरको माटोबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको छ ।

नेपाली गीत सङ्गीतको क्षेत्रमा स्वदेश तथा प्रवासबाट समेत महत्त्वपूर्ण योगदान गर्दै आएका कलाकार तथा सर्जकहरूको साधनाको उच्च कदर गर्दै उद्यमी व्यवसायी श्री कन्हैयाकृष्ण श्रेष्ठले वि. सं. २०६४ मा आफ्नी ममतामयी माता श्री बिजुलीमाया वनः श्रेष्ठको नाममा ‘विजुतीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गरेकाछन । सुरुवातमा रु ५०,०००/- राशीबाट बुद्धि गरी २०६७ सालदेखि रु. १,००,०००/- पुर्याइएको यो पुरस्कारको १५ औं संस्करणमा यस वर्ष २०८० का लागि नेपाली गीत लेखनको क्षेत्रमा विगत पाँच दशकभन्दा बढी समयदेखि निरन्तर कलम चलाइरहेका, आधुनिक गीतदेखि सिनेमा क्षेत्रमा समेत महत्त्वपूर्ण र सफल गीतहरू सिर्जना गरेका गीतकार श्री राजेन्द्र थापालाई समर्पण गरिने छ ।

गीत लेखनको पाँच दशकभन्दा लामो यात्रामा थापाका गीतमा ६० भन्दा बढी साङ्गीतकारले सङ्गीत भरेका छन् भने उनका शब्दमा आवाज भर्ने गायकगायिकाहरूको संख्या ८० भन्दा बढी रहेको छ । पोहोर साल खुसी फाट्‌दा, पर लैजाउ फूलहरू, यो मन त तलाउ हो.. लगायतका कालजयी गीतका सर्जक हुन थापा ।