Sur Cinema

सेन्सरबोर्ड हटाएर प्रमाणिकरण बोर्ड राख्नुपर्छ : दयाराम दाहाल

हेटौंडा : चलचित्र बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालले सेन्सर बोर्ड हटाउनुपर्ने धारणा व्यक्त गरेका छन्। चलचित्र पत्रकार संघले हेटौंडामा आयोजना गरेको राष्ट्रिय भेलाको तेस्रो दिन दाहालले सेन्सर बोर्ड खारेज हुनुपर्ने बताएका हुन्।

भेलाको तेस्रो दिन सिनेमा-पर्यटन विशेष संवाद सेसनमा बोल्दै दाहालले सेन्सर बोर्डले कृयटरका सृजनामाथि अंकुश लगाउने काम मात्र गरेको आरोप लगाए। अब सेन्सर बोर्ड हटाएर ग्रेडिङ गर्नुपर्ने दाहालले माग गरे।

सेन्सर बोर्ड हटाएर प्रमाणिकरण वोर्डको विकास गर्नुपर्ने पनि दाहालले धारणा राखे। सेन्सर गरेर हटाउनै पर्ने खालका, हेर्नै नहुने दृश्य भएका सिनेमारु नबनेकोले सेन्सर गर्न आवश्यक नरहेको पनि दाहालले बताए।

दाहालका अलावा विशेष संवाद सेसनमा सेन्सर बोर्डका सदस्य ऋषि आचार्य, चलचित्र निर्देशक मनोज पण्डित र चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी पनि रहेका थिए। सेसनको सहजीकरण चाहिँ संचारकर्मी संजोक वश्यालले गरेका थिए।