काठमाडौं :अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को टिजर सार्वजनिक भएको छ । बिहीबार रिलिज गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा दया र दीयालाई श्रीमान्-श्रीमतीका रुपमा रुपमा देख्न सकिन्छ ।
सार्वजनिक टिजरमा नि:सन्तान भएकाले श्रीमानलाई दोश्रो विवाह गर्न श्रीमतीले प्रेरित गरेको देखाइएको छ । सो क्रममा श्रीमानले श्रीमतीको प्रस्ताव अस्वीकार गरेको देखाइएको छ भने अर्को एक दृश्यमा सालीसँग ठट्टा गरेको देखाइएको छ । सालीको भूमिकामा रहेकी प्रमिसा गुरुङले बोलेको ‘ए हो र !’ भन्ने संवादले उनलाई राम्रैगरी नोटिस गराएको छ । हास्यप्रदानसँगै केही गम्भिरता प्रदान गरेको सिनेमाको यो टिजरले दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । अभिनेता माओत्से गुरुङले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हुन् । सिनेमा माघ २६ गते रिलिज हुँदैछ ।















