काठमाडौं : सम्राट बस्नेतले निर्देशन गर्न लागेको नयाँ सिनेमा ‘कंगारु’मा कलाकार केदार घिमिरे ‘माग्ने’ बुढा अनुबन्धित भएका छन्। ‘कंगारु’को निर्माण पक्षा र केदारबीच सोमबार औपचारिक सम्झौता भएको हो।
‘कंगारु’मा केदार भित्रीएपछि यतिबेला सिनेनगरिमा एक खालको चर्चा सुरु भएको छ। ‘छक्का पन्जा’ टिम बाहेक बाहिरका सिनेमाहरु नगर्ने केदार कसरी ‘कंगारु’मा आबद्ध भए त? भन्ने विषयको कौतुहलता सबैमा छाएको छ।
जे होस्, केदार जस्तो कलाकार सिनेमाको गुदी बुझेर नै ‘कंगारु’मा भित्रीएका होलान्। नत्र त जस्तो पायो त्यस्तै सिनेमा गर्नेमा उनी पर्दैनन्।
फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको सिनेमामा सीमा गुरुङको कथा रहेको छ भने महेश दवाडीको पटकथा छ।
सिनेमा सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण हुने बताइएको छ। राजिव गुरुङ ‘दीपक मनाङ्गे’ प्रस्तुतकर्ता रहेको सिनेमामा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा रहेका छन्।















