काठमाडौं : इओन लिम्बू नेपाली सिनेमा उद्योगको लागि नयाँ मुहार हुन्। उनले ‘दुई कदम’बाट सिनेमा क्षेत्रमा डेव्यू गर्दैछन्। यो सिनेमा आगामी मंसिर २९ गतेबाट प्रदर्शनमा आउँदैछ।
डेव्यू सिनेमाबाट इओनले निकै ठूलो आशा राखेका छन्। त्यसैले पनि सिनेमाको लागि उनले इओनले निकै मिहेनत गरेका छन्। निर्माण टिमले सोमबार साँझ मात्र सिनेमाको नयाँ गीतको भिडियो छायांकन गर्यो। जुन भिडियोमा इओनले नायिका वर्षा शिवाकोटीसँग जोडी बाँधेका छन्।

‘ए मेरा बाबै नि’ बोलको गीतको भिडियोमा वर्षासँग इओनले ठुम्का लगाएका हुन्। वर्षा यही भिडियोमा मात्र रहनेछिन्। इओनसँग काम गरेपछि वर्षाले उनको तारिफ पनि गरिन्। नयाँ कलाकार भएपनि डान्सबारे इओनले धेरै बुझेको वर्षाले बताइन्। वर्षासँग स्क्रिन सेयर गर्दा पाउँदा इओन पनि निकै खुशी छन्। गीतमा उनीहरुलाई कोरियोग्राफर कविराज गहतराजले नचाएका छन् । गीतका छायांकार सौरभ लामा हुन् ।

निर्माण टिमले सोमबार मात्रै नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ बोलको गीत रिलिज गरेको थियो। अब वर्षा र इओनले डान्स गरेको गीत भिडियोको पनि छिट्टै रिलिज गर्ने निर्माण टिमको तयारी छ।
उदय सुब्बा निर्देशित ‘दुई कदम’मा इओनको साथमा सुनील थापा, कविता आले, गौरव पहारी, सुरवीर पण्डित, प्रेम सुब्बा, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। सिनेमाको कथा एवम् पटकथा दयाराम घिमिरेले लेखेका हुन्। अजम्बरी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको लगानी रहेको छ।















